Logo

प्रचण्डले उत्तेजनाको राजनीति गरेको आरोप लगाउँदै गगनले भने, ‘आफूले लगाएको आगोले आफैंलाई पोल्न सक्छ’



काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्तेजनाको राजनीति गरेको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकको विशेष समय लिएर बोल्दै उनले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले केही दिनअघि संसद्मा बोल्दा नेपाल बंगलादेशजस्तै होला भनेर अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘पूर्व प्रधानमन्त्रीले बोल्दैगर्दा नेपाल बंगलादेश होला, श्रीलङ्का होला भनेर भन्नसम्म भ्याउनुभयो । धर्म पापमा विश्वास नगर्ने भएकाले श्राप दिएको त पक्कै होईन होला । तर्साउन खोज्नुभएको होला । ….पछि गएर धेरै पटक गल्ती भयो, गल्ती भयो भन्नुभएको छ । यसमा धेरै पर गएर नभन्नुहोला । किनकी प्रतिपक्ष सरकारको प्रतिपक्ष हो । जमेर आफ्नो विषय राख्नुपर्छ । कहिले काहीँ आफ्नो विषय ठीक छ भन्ने लाग्यो भने त यहाँ सरकारलाई घुडा पनि टेकाउनुपर्छ । प्रतिपक्षले यस्तो गर्ने कुराहरु सामान्य नै हुन्छ । तर, प्रतिपक्षमा बस्दैगर्दा उ राज्यको प्रतिपक्ष होईन, व्यवस्थाको प्रतिपक्ष होईन । उ सरकारको मात्रै प्रतिपक्ष हो । उ सिस्टमको अंग हो । विपक्षी दलले एकछिनको लाभको लागि, कुनै अन्तरविरोधका लागि यतिधेरै पनि बरालिन हुँदैन कि आफूले लगाएको आगोले आफैंलाई पोल्न सक्छ । आफैंलाई जलाउन सक्छ । उत्तेजनाको राजनीति बडो सजिलो छ । विवेकपूर्ण ढंगले सम्हाल्न गाह्रो छ ।’



प्रतिक्रिया दिनुहोस्