Logo

कर्मचारीतन्त्र सुध्रिन ढिला भइसक्यो, यसले फेयरनेस र प्रभावकारिता देखाउन सकेनः उमेश मैनाली



काठमाडौं, १४ भदौ । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले कर्मचारीतन्त्र कहिले पनि जनताको प्रिय हुन नसकेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कर्मचारीतन्त्र सुध्रिन ढिला भइसकेको बताए । उनले कर्मचारीतन्त्रले आत्म शुद्धीकरण नगरेको खण्डमा अब यसको विकल्पको खोजी हुनसक्ने बताए ।

‘कर्मचारीतन्त्र सबै वर्गको अप्रिय हुँदैछ । यो सर्वसाधारण जनताको त प्रिय हुन सकेन । समाजका सबै वर्गहरुको आलोचित भइरहेको छ । मलाई के लाग्छ भने कर्मचारीतन्त्रले सुध्रिन ढिला भयो ।’ उनले भने, ‘यदि यसले आत्म शुद्धीकरण गरेन भने यसको विकल्प सोच्न थालिन्छ ।’

अहिले कर्मचारीतन्त्रदेखि लिएर सबै संस्थाहरु भ्रष्ट रहेको उनको दाबी छ । कर्मचारीतन्त्रलाई राज्यले दिएको संवैधानिक ग्यारेन्टीका कारण उनीहरुले काम नै नगरेको मैनालीको भनाइ छ । ‘हामीले कर्मचारीतन्त्रलाई यस्तो संवैधानिक ग्यारेन्टी दियौं, भर्ना गरिसकेपछि उहाँहरुलाई केही चलाउनै सक्दैनौं । उहाँहरुले कुनै सिन्को नै नभाँच्दा पनि अवकाश दिन सक्दैनौं । त्यस्तो अवस्था छ,’– उनले भने ।

भित्तामा टाउको नभएको किला ठोक्दा निकाल्न नसकिएझैं अहिलेको कर्मचारीतन्त्र पनि ‘टाउको नभएको किला’ जस्तो भएको र उनीहरुले काम नगर्दा पनि अवकाश दिन नसकिने अवस्था हरेको बताए । ‘कर्मचारीतन्त्रलाई बढी स्थायित्व भए । भ्रष्टाचारको आरोप प्रमाणित भए बेगर उहाँहरुलाई निकाल्न सकिँदैन ।’

कर्मचारीतन्त्रले जनतालाई दिने सेवा सुविधामा प्रिय हुन नसकेको उनको टिप्पणी छ । मैनालीले कर्मचारी तन्त्रले फेयरनेस र प्रभावकारिता पनि देखाउन नसकेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्