Logo

परिवर्तनको नेताका रूपमा मलाई संसारले स्वीकारेको छ, सधैं पार्टीको नेतृत्व गर्ने रूची छैनः प्रचण्ड



काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व हस्तान्तरणको कुरा अहिलेकै अवस्थामा सम्भव नरहेको बताएका छन् । आज (शुक्रबार) सुर्खेतमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीमा अलिकति राम्रो टिम बनेपछि मात्रै नेतृत्व हस्तान्तरण हुने र आफू अर्को भूमिकामा जाने बताएका हुन् । उनले पार्टी उपमहासचिव जनार्दन शर्माले पनि आफूलाई अहिले नै नेतृत्व हस्तान्तरण गर्न नभनेको बताए । सो क्रममा पार्टी उपमहासचिव जनार्दन पनि संगै थिए ।

प्रचण्डले आफूलाई परिवर्तन र क्रान्तिको नेताको रुपमा संसारले चिनेको बताउँदै सधैं अध्यक्ष भएर बस्ने आफ्नो चाहना नरहेको पनि बताए । उनले उमेरले पनि आफू अब ७० वर्ष काट्नै लागेको बताउँदै उनले राम्रो टिम बनाइदिएर आफू अब अर्को भूमिकामा जाने बताए ।

‘नेतृत्वको बारेमा जहिले पनि छलफल भइराख्छ । अहिले आम रुपमा के हो भने आजको मितिमा नेतृत्व हस्तान्तरणको कुरा त्यति उपयुक्त छैन भनेर मैले भनेको छु । सबै साथीहरुले पनि, उहाँ (जनार्दन) ले पनि अहिले अध्यक्ष छोडेर अर्को अध्यक्ष बनाउने भनेको पनि होईन । अझ उहाँले ब्याख्या गर्दा त नेतृत्वलाई अझ प्राधिकार बनाउने, अझ माथि राख्ने उद्देश्य भनेको हुनाले पनि अहिले तत्काल छैन । तर, म अब ७० कट्दैछु । सधै नेतृत्व गर्ने मलाई त्यस्तो रूची पनि छैन ।’ उनले भने, ‘मैले बैठकमा भनेको पनि छु– अब अध्यक्ष भन्ने पद मेरोलाई त्यति ठूलो हुनुपर्ने छैन । मैले के ठान्छु भने अध्यक्षभन्दा प्रचण्ड माथि भइसक्यो । देश दुनियाँ, संसारले नेपालको ठूलो परिवर्तनको नेता, क्रान्तिकारी नेताको रूपमा दुनियाँले स्वीकारेको स्थितिमा म नै हुनुपर्छ भन्ने नै छैन । म त अब राम्रो टिम बनोस्, त्यो टिम बनेपछि आफैं नै अलि अर्को भूमिकामा जाने तयारी पनि गरिराखेको छु ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्