Logo

कांग्रेस-एमालेको सरकार ढल्छ भनेर कल्पना नगर्दा हुन्छ, सपनासमेत नदेख्नुः धनराज गुरुङ (भिडिओसहित)



काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बाँकी पूरै अवधि अगाडि जाने बताएका छन् । हिजो (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेको सरकार ढल्छ भनेर कल्पना नगर्न र सपनासमेत नदेख्न आग्रह गरे । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढुक्कले काम गर्न दिने उनको भनाइ छ ।

‘दुई वर्षसम्म ढुक्कसँग हामीले साथ दिन्छौं । केपी ओलीज्यूको नेतृत्वमा रहेको सरकारले मजाले काम गर्छ । समीकरणहरु धेरै आउने, जाने, भत्किने, सरकारहरु छिन–छिनमा फेरिने भएकै कारणले गर्दाखेरी अलि स्टेबल बनाऔं है भनेर कांग्रेस–एमाले मिलेका हौं । कांग्रेसबाट असहयोग भन्ने गुञ्जायस पाउनुहुन्न । कांग्रेसको कारण यो सरकार ढल्छ भन्ने कुरा कल्पना पनि नगर्नु, सपनामा पनि नदेख्नु,’– उनले भने ।

साथै, पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा छटपटाहट देखिएको उनको टिप्पणी छ । उनले प्रचण्ड आफू प्रधानमन्त्रीबाट हटेको डेढ, दुई महिनामै देश ‘श्रीलङ्का जस्तो हुन्छ, बंगलादेशको स्थिति आउँछ’ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए ।

‘प्रचण्डजीमा पछिल्लो समय छटपटाहट देखिएको छ । त्यसको बारेमा म टिप्पणी गर्दिनँ । वाक स्वतन्त्रताको हक सबैलाई छ । प्रधानमन्त्रीबाट हटेको डेढ, दुई महिनामै उहाँबाट यस्तो गैरजिम्मेवार कुरा, आफू हुँदा ठीक आफू नहुँदा श्रीलङ्का हुन्छ, बंगलादेशको स्थिति आउँछ भनेर रडाको मच्चाउनु गैरजिम्मेवार कुरा हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्