काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले राज्य शक्तिको उचित बाँडफाँड नहुँदा देशमा विकास हुन नसकेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब संविधानको मर्मअनुसार राज्य शक्तिको बाँडफाँड र कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
‘शक्तिको बाँडफाँड राम्रोसँग हुन सकेको छैन । कसले के गर्ने भन्ने कुरा द्रुत गतिमा कार्यान्वयन हुन सकेको छैन । त्यसकारणले अब यसलाई व्यवस्थित गर्दै लानुपर्छ । सबै पार्टीहरु एक ठाउँमा उभिएर अहिलेका यी सबै समस्याहरुको समाधान गर्दै लानुपर्छ,’– उनले भने ।
नेता रिजालले वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्मै अगाडि बढ्ने दाबी गरे । अबको २२ महिना केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेर शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उनको दाबी छ । ‘तीन, साढे तीन वर्षको अवधि बाँकी छ, यसमा दुई वर्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार चल्छ । त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार चल्छ । संविधान संशोधनका काम पनि हुन्छ । यो सरकारबाट जनताले अपेक्षा गरेका छन्,’– उनले भने । File Photo/RN