Logo

माओवादीसँग भिड्ने मुडमा ओली, जनयुद्धको नाममा हिंसा फैलाएको आरोप



काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले जनयुद्धको नाममा हिंसा फैलाएको आरोप लगाएका छन् । आज (शनिबार) क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादीले जनयुद्धको नाममा हिंसा फैलाएको, अन्धधुन्ध मान्छे मारेको र लुटेको आरोप लगाएका हुन् । तत्कालीन समयमा माओवादीको गतिविधिलाई लिएर आफूले चर्का प्रतिरोध गरेको पनि उनले दाबी गरे ।

‘माओवादीले जनयुद्धको नाममा हिंसा फैलाइरहेको बेला, अन्धधुन्द मान्छे मारिरहेको बेला, लुटिरहेको बेला, त्यसबेला चर्को प्रतिरोध गरेँ मैले । व्यक्तिगत तबरमा पनि मसँग सेना, प्रहरी थिएन । तर, मैले चर्को विरोध गरेँ । त्यो खाली एउटा मोरल साहसमात्रै हो । सत्यप्रतिको मेरो निष्ठामात्रै हो, तपाईँहरु गलत गर्दै हुनुहुन्छ, यो बन्द गर्नुस् भन्ने कुरा लगातार गरेँ । यो बेठीक हो भने, विरोधमात्रै गरिनँ, मैले कसरी वार्ताद्वारा समायोजन गर्नुपर्छ भनेरले लेख लेखेँ । पछि २०६३÷०६४ मा जे–जे कुरा भए, मैले ०५८ सालमा भनेको थिएँ । संवादको माध्यमबाट समस्या समाधान गरौं, हिंसा गरेर, हिंसा भड्काएर र मान्छे मारेर समस्या समाधान हुँदैन । तर, फेरि माओवादी हिंसालाई नरोक्ने हो भने त्यो बेरोकटोक अगाडि बढ्दै जाने भो । हिंसाको प्रवृत्ति र मनोबल बढ्दै जानेभयो । रोक्ने प्रयास राज्यको तर्फबाट भयो । जायज प्रयास भयो । राज्य मुकदर्शक भएर बस्न सक्दैन थियो । यस काममा क्याप्टेन रामेश्वर थापाको योगदान प्रसंशायोग्य छ,’– उनले भने ।

हिंसा शब्दलाई लिएर माओवादी–एमालेबीच सदनमा नोकझोक चलिरहेको अवस्थामा ओलीले पनि भिड्ने नीति अख्तियार गरेका छन् । संविधानले नै माओवादी आन्दोलनलाई सशस्त्र विद्रोहको रुपमा स्वीकार गरिसकेको अवस्थामा हिंसा भनेर माओवादी आन्दोलनलाई होच्याउने काम आफूहरुलाई स्वीकार्य नरहेको माओवादी बृत्तको भनाइ छ । देशको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओलीले नै माओवादी सशस्त्र विद्रोहलाई हिंसा भनिदिएका छन् । Photo By: Mukunda kalikote/RN



प्रतिक्रिया दिनुहोस्