Logo

प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो



काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको समझदारीअनुसार एक हप्ता अगाडि नै पद हस्तान्तरण गर्ने बताएका छन् । आज (शनिबार) क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्रीमा एक वर्ष १० महिना १५ दिनमात्रै प्रधानमन्त्रीमा रहने बताए । उनले आफूभित्र बढी समय प्रधानमन्त्रीमा रहौं भन्ने भावना नरहेको बताए । समयमै प्रधानमन्त्री पद हस्तान्तरण गरिने उनको भनाइ छ ।

‘मैले सधैं म प्रधानमन्त्री बन्छु, मैँ नेतृत्व गर्छु नेपालको भनेर हुन्छ र ? मलाई मन नपराउनेहरुका लागि म खुसीको खबर भन्न चाहन्छु– मेरो यस पल्ट प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी छ । मन नपराउनेहरुलाई खुसीको कुरा । त्यो भन्दा पनि हप्ता दिन अघि नै छोड्छु् भनेको छु मैले । बढी खाउँ भनेको होईन कि बरु समयमै हस्तान्तरण गरांै भन्ने मेरो नीति रहन्छ,’– उनले भने ।

कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएर वर्तमान सरकार बनेको थियो । जसमा दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई विश्वासमा लिइराख्न पटक–पटक आफूहरुबीच भएको सहमति सम्झाउने गरेका छन् ।

साथै, प्रधानमन्त्री ओलीले आफूले आजसम्म जानीजानी झुठ नबोलेको पनि दाबी गरे । आफू ६ दशकदेखि देश बनाउने अभियानमा रहेको र अहिलेसम्म आफ्नो हक नलाग्ने, पसिनाको कमाइ बाहेक अरु केही आर्जन नगरेको पनि उनको दाबी छ ।

साथै, माओवादीले जनयुद्धको नाममा हिंसा फैलाएको उनको आरोप छ । प्रधानमन्त्री ओलीले तत्कालीन समयमा माओवादीको गतिविधिलाई लिएर आफूले चर्का प्रतिरोध गरेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्