काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुदायले गर्ने समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७औं पुस्तकालय दिवस एवम् १५९औँ मोती जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिड्नुपर्ने बताए ।
‘पुस्तकालय बनाउन गर्ने जस्तो सामाजिक काम सहज हैन । यहाँको अग्रजहरुले वातावरण बनाएर पुस्तकालय स्थापना गरेको धन्यवाद भन्न चाहन्छु । अहिलेको समयमा सामुदायिक अध्ययन केन्द्रको आवश्यकता अझ धेरै छ । पुस्तकालयले सामुदायिक चेतना जनाउनुपर्ने र यसलाई नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता छ । सूचनामाथि पहुँच जमाउने भन्दा प्राप्त गरेको सूचनाको विवेचना गर्ने क्षमता हुनुपर्छ,’– उनले भने ।
उनले विकासको पछिल्लो चरणमा रहेका देशहरूले विकासमा समुदायलाई जोड्न नसकेसम्म विकास नहुने जनाउँदै यसका लागि पुस्तकालय महत्वपूर्ण हुने बताए । ‘पुस्तकालय समुदायको एउटा अङ्ग हो, यसले अरुलाई पनि प्रेरित गर्छ । सामाजिक सञ्जाल र सूचनाहरुमा समय बिताउने भन्दा पुस्तकालयमा समय बिताउने कार्यलाई बढी जोड दिनुपर्छ,’– उनले भने ।