Logo

नेपालको परराष्ट्र नीति ‘छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता’ नीतिबाट निर्देशित छ, सो कुरा महासभामा राख्छुः प्रधानमन्त्री ओली



काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्रका विषय, राष्ट्रका कुराहरु, समस्या, चूनौति र अभिभाराहरुमा केन्द्रीत भएर आफ्नो विचार राख्ने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभालाई आफ्नो महासभामा भाग लिन जान लागेको जानकारी गराउँदै उनले त्यहाँ नेपालको आफ्नो नीति, दृष्टिकोण, अडान, समस्या, उपलब्धीहरु र अगाडि बढ्नुपर्ने अभिभारका सन्दर्भ महासभामा राखिने बताएका हुन् ।

साथै, नेपालले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित गर्न बनाइएको संविधानलगायतको विषयमा पनि महासभामा राखिने उनले बताए । ‘हामीले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई व्यवस्थित गर्न हामी आफैंले बनाएको संविधान र संविधानका विभिन्न पक्षहरु र नेपालको लोकतन्त्रप्रतिको प्रतिवद्धतालाई मै प्रष्ट गर्नेछु । नेपाल सार्वभौमसत्ता सम्पन्न, स्वाधीन र स्वतन्त्र राष्ट्र हो,’– उनले भने ।

आफ्ना राष्ट्रिय हितहरु, जायज राष्ट्रिय हितहरु, न्योचित राष्ट्रिय हितहरु र अन्तर्राष्ट्रि उत्तरदायित्व पूरा गर्ने सन्दर्भमा नेपालको प्रतिवद्धता व्यक्त गर्ने पनि उनले बताए । नेपाल असल छिमेकीको रुपमा छिमेकी राष्ट्रसँगको सम्बन्ध राख्न चाहने कुरा पनि आफूले जानकारी गराउने उनले बताए ।

‘छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता’ नीतिबाट नेपालको परराष्ट्र नीति निर्देशित रहेको उनले बताए । संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरु, आन्तरिक मामलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसित र नीतिमा हुने हस्तक्षेप अस्वीकार गर्ने नेपालको स्थापित नीति रहेको उनले बताए । सो कुरा संयुक्त राष्ट्रसंघमा राखिने उनले बताए । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्