Logo

रवि लामिछानेले सहकारी ठगी प्रकरणमा क्लिन चिट पाएको शिशिर खनालको दाबी



काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमार्फत रवि लामिछानेले पूर्ण रुपमा क्लिन चिट पाएको दाबी गरेका छन् । आज (सोमबार) संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले रवि लामिछानेमाथि लगाइएको आरोप पुष्टि नभएको बताएका हुन् ।

‘जुन आरोप माननीय रवि लामिछानेमाथि लगाइएको थियो, सहकारीको रकम अपचलन गरिएको छ, सहकारीको रकम हिनामिना भएको छ भन्ने आरोपबाट माननीय रवि लामिछानेले पूर्णरुपमा यो क्लिन चिट यो समितिमार्फत पाउनुभएको छ,’– खनालले भने ।

समितिले प्राप्त प्रमाण र तथ्यहरुको आधारमा रवि लामिछानेको सहभागिता देखिँदैन भनेर निश्कर्ष निकालेको उनको दाबी छ । ‘यो समितिले प्राप्त प्रमाण, तथ्यको आधारमा सहकारीबाट रकमको प्रवाह गर्ने क्रममा कुनै पनि ठाउँमा रवि लामिछानेको सहभागिता देखिँदैन भनेर यो प्रतिवेदनमा निश्कर्षको रुपमा हामीले लेखेका छौं,’– उनले भने ।

रवि लामिछानेको खातामा रकम गएको विषयलाई लिएर नै समिति बनाइएको उनले बताए । मूल आरोपमा रवि लामिछानेको संलग्नता नभएको समितिको निश्कर्ष रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्