Logo

रवि लामिछानेको दाबीः ‘सहकारी ठगीमा मेरो संलग्नता छैन भन्ने कुरा पुष्टि भइसकेको छ’ (भिडिओसहित)



काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको कुरा पुष्टि भएको दाबी गरेका छन् । आज (सोमबार) संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको कुरा पुष्टि गरिदिएको बताएका हुन् ।

‘सहकारी ठगीको जुन भनिएको थियो, मसँग प्रमाण छ, निवेदन हालेको यो छ, भन्ने ती सब कुरा फर्जी रहेछन् । त्यो त आरोप रहेछ । सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा पुष्टि भइरहेको छ । समितिले भनिसकेको छ,’– लामिछानेले भने ।

समितिको सदस्यसमेत रहेका रास्वपाका नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले पनि रवि लामिछानेले समितिमार्फत क्लिन चिट पाएको दाबी गरे । ‘यो समितिले प्राप्त प्रमाण, तथ्यको आधारमा सहकारीबाट रकमको प्रवाह गर्ने क्रममा कुनै पनि ठाउँमा रवि लामिछानेको सहभागिता देखिँदैन भनेर यो प्रतिवेदनमा निश्कर्षको रुपमा हामीले लेखेका छौं,’– उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्