Logo

रविले किर्ते कागजको आधारमा गोरखा मिडियाको शेयर खरिद-बिक्री गरेको समितिको निश्कर्ष



काठमाडौं, ३१ भदौ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछानेले किर्ते कागजको आधारमा कम्पनीको शेयर गरिदविक्री गरेको निश्कर्ष निकालेको छ । समितिले आज संसद्मा प्रतिवेदन पेश गरिसकेको छ । समितिले शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको निश्कर्ष निकालेको हो ।

भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको करसमेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न सरकारलाई सिफारिस गरिएको छ । त्यस्तै, लामिछानेले गोर्खा मिडियाबाट पाएको भनिएको वेट शेयरको सम्बन्धमा कानुनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन भनिएको छ ।

समितिले सहकारीमार्फत गोर्खा मिडियामा आएको रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेका अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाहीको सिफारिससमेत गरेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्