Logo

स्थानीयको माग सम्बोधन नगरी मेलम्चीको पानी लाने प्रयत्न नगर्ने संघर्ष समिति र पाँच राजनीतिक दलका चेतावनी



काठमाडौं, ३१ भदौ । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुले स्थानीयबासीको माग सम्बोधन नगरी जबरजस्ती पानी लैजाने प्रयास नगर्न चेतावनी दिएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले स्थानीयको माग सम्बोधन नगरी जबरजस्ती सुरुङमा पानी हाल्ने प्रयत्न गरिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

संघर्ष समिति, हेलम्बु गाउँपालिकास्थितका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), नकेपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारवालाहरुलाई चेतावनी दिएका हुन् ।

राष्ट्रिय गौरवको आयोजना संचालित रहेको मेलम्ची खानेपानी आयोजना र यसबाट प्रभावित क्षेत्रमा २०७८ साल अषाढ १ र श्रावण १६ र १७ गते आएको भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवर्क्स (मुख्य सुरुङ मार्ग) भन्दा तल्लो तटीय क्षेत्रका मुख्य सडक मार्ग, झोलुङ्गे पुल, पुल पुलेसा, सिञ्चाई कुलो, पाटी पौवा, मठमन्दिर, हेलम्बु इलाका प्रहरी कार्यालय, हेलम्बु–२ कार्यालय, नागरिकका घरगोठ, नागरिकका जिबिकोपार्जनसँग जोडिएको हजारौं रोपनी खेतियोग्य फाँटहरु, बिद्यालय, क्याम्पसका पूर्वाधार तथा दर्जनौ व्यावसायिक फार्म तहसनहस भएको उनीहरुले स्मरण गराएका छन् ।

उक्त परिस्थितिलाई सहजता, समाधान उन्मुख र नागरिकका चोटहरुमा मल्हमपट्टी गर्न राज्यसम्बद्ध सबै सरोकारवाला निकायका ढोकाहरु विविध माध्यमद्वारा विगतदेखी नै निरन्तर ढकढक्याइरहेको र त्यसप्रति संवेदनाहिनता देखिएको उनीहरुको भनाइ छ । नागरिकको जीवन र पीडासँग राज्य संयन्त्र एकाकार हुननसकेको उनीहरुको आरोप छ ।

‘मेलम्ची खानेपानी आयोजनाले छिट्टै पानी सुरुङमा हाल्ने मनस्थितिमा देखिन्छ । तर, यदि मेलम्ची बाढीपीडित संघर्ष समितिले उठाएका मागहरुका बारेमा सुनुवाई गरी कार्यान्वयन नगरी पानी सुरुङमा पथान्तरण नगर्न सम्बन्धित निकायलाई मिति २०८१ भाद्र ३० गते बसेको सङ्घर्ष समिति जिल्ला तथा स्थानीय तहका निर्वाचित प्रतिनिधिहरुको संयुक्त बैठकले विनम्रतापूर्वक संयुक्त अपिल गर्दछौं,’– विभिन्न राजनीतिक दलका प्रतिनिधि र संघर्ष समितिले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्