Logo

रवि लामिछानेमाथि सहकारी ठगीसहित ४ वटा कसुरमा कारबाही हुनुपर्छः वरिष्ठ अधिवक्ता भट्टराई



काठमाडौं, १ असोज । वरिष्ठ अधिवक्ता एवं संविधानविद् टीकाराम भट्टराईले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले पेश गरेको प्रतिवेदनका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न ४ वटा कसुरमा कारबाही हुनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिवेदनको आधारमा लामिछानेमाथि संगठित अपराध, सहकारी ठगी, किर्ते र कम्पनी ऐनअन्तर्गतका कसुरमा कारबाही हुनुपर्ने बताएका हुन् । कानुन व्यवसायमा संलग्न रहेको २०औं वर्षका अनुभवको आधार प्रस्तुत गर्दैै उनले अहिलेसम्म आफूले देखेको, बसह गरेको यस्ता प्रकृतिको मुद्दामा यिनै चार वटा कानुन आकर्षित भएको पाएको बताए । उनले सर्वसाधरणका लागि यी कानुन आकर्षित हुने भएकाले नेताहरुमा पनि त्यसै हुनुपर्ने बताए ।

‘यस्ता प्रकृतिको मुद्दामा सहकारी ठगी, कम्पनीको रकम हिनामिना भएको भन्ने आएको छ । कम्पनी ऐनअन्तर्गतको कारबाही प्रारम्भ हुन्छ । तेस्रो चाहीँ एक जना वा एक जना भन्दा बढी समूह मिलेर यस्तो खालको अपराध गरेको, सर्वसाधरणको पैसा गएको र त्यो पैसा देशबाहिर पनि गएको भेटियो भने वा चेन बनाएर संगठित रुपले अपराध गरेको भन्ने निश्कर्षमा अनुसन्धान अधिकारी पुग्यो भने संगठित अपराध पनि लाग्न सक्ने देखियो । किर्ते गरेको पनि कुरा आएका छन् । स्वयं रवि लामिछानेजीले मेरो कुनै पनि हस्ताक्षरमा त्यो रकम गोर्खा मिडियामा आएको छैन, कसले ल्यायो मलाई थाहा छैन । हिजो पनि उहाँले भन्दै हुनुहुन्थ्यो– ल्याउने कुरामा मेरो संलग्नता छैन । तर, आएको रकम मैले खर्च गरेको हो भन्ने अभिव्यक्ति आयो । उहाँको हस्ताक्षर भएको भन्ने देखियो,’– उनले भने ।

लामिछानेले आएको रकम कर्मचारीलाई तलब बाँडेको, आफूले पनि महिनाको पाँच लाख रुपैयाँ तलब लिएको स्वीकार गरेको उनले बताए । सर्वसाधरणले जम्मा गरेको सहकारीको पैसा कहाँबाट आयो मलाई थाहा छैन, मैले खर्च चाहीँ गरेँ भनेर उन्मुक्ति नपाइने उनले बताए । ‘कसैले कुनै सामन चोरीको हो भन्ने थाहा पाएर प्रयोग गर्यो भने, त्यो प्रयोग गर्नेलाई पनि चोरे सरह अपराध लाग्छ र अहिले पनि कारबाही हुन्छ । त्यो पैसा सहकारीको हो भन्ने उहाँले स्वीकार गर्नुभएको छ । सहकारीको पैसा त्यसरी गैरसदस्यलाई आउनै सक्दैन । गोर्खा मिडिया नेटवर्कको सहकारीको सदस्य होईन । म चाहीँ दोषी होईन भन्ने कुरा सुहाउने कुरा होईन,’– उनले भने ।

लामिछानेले त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने र कानुनबमोजिको सजाय भोग्न तयार हुनुपर्ने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्