Logo

प्रधानमन्त्री ओलीले साम्प्रदायिक हर्कत गरिरहेको आजपा अध्यक्ष साहको आरोप



काठमाडौं, १ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली साम्प्रदायिक गतिविधिमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओली मधेश विरोधी साम्प्रदायिक गतिविधिमा लागेको भन्दै उनले भर्त्सना गरेका छन् । आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओलीको मधेश विरोधी साम्प्रदायिक गतिविधिको विरोध गर्न भनेका छन् । सरकार आफैले बनाएको विद्यार्थी –शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत मधेशी विद्यार्थीको भविष्य बर्वाद गरिरहेको उनको भनाइ छ ।

ओली सरकारको साम्प्रदायिक हर्कत भन्दै साहले भनेका छन्, ‘पहाडी जिल्लाहरुमा १८ विद्यार्थीमा १ शिक्षकको दरले शिक्षक दरबन्दी वितरण गरेको ओली सरकारले मधेशमा १०० विद्यार्थीको अनुपातमा १ शिक्षकको ब्यवस्था गरेको छ । जसको कारण आज मधेशमा शिक्षक दरबन्दीको अभावमा एउटा कक्षा कोठामा १०० देखि ३०० सम्म विद्यार्थी कोचेर पठनपाठन गर्न बाध्य छ ।’

अध्यक्ष साहले विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलनरत आम विद्यार्थी मोर्चाको माग सम्बोधन गर्नुको साटो ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने हर्कत गरिरहेको बताएका छन् । ओली सरकारले राणाकालीन शैलीमा तर्साउने र साम्प्रदायिक गतिविधि नसच्याए बंगलादेशमा जस्तै उनको सरकार ढाल्न विद्यार्थीहरु सडकमा आउँने उनले चेतावनी दिएका छन् । त्यसलाई सरकारले रोक्न नसक्ने उनको भनाइ छ ।

‘आफैंले बनाएको विद्यार्थी–शिक्षक अनुपात सम्बन्धी मापदण्ड विपरीत सरकारले मधेशी विद्यार्थीको भविष्य बर्वाद गरिरहेकोछ । यस साम्प्रदायिक विभेदका बिरुद्ध आम बिधार्थी मोर्चाले प्रत्येक जिल्लामार्फÞत सरकारलाई ‘विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीका लागि’ ज्ञापनपत्र बुझाएको र शिक्षा मन्त्रीलाई विशेष ध्यानाकर्षण गराई शैक्षिक आन्दोलन अगाडि बढाई रहेको सन्दर्भमा उक्त जायज मागहरूलाई सम्बोधन गर्नुको सट्टा ओली सरकारले उल्टै राणाकालीन शैलीमा तर्साउने जुन हर्कत गरिरहेको छ । त्यो निन्दनीय छ’ आजपा अध्यक्ष साहले लेखेका छन्, ‘ओली सरकारको यस मधेश विरोधी साम्प्रदायिक कुकर्मको सर्वप्रथम भर्त्सना गर्दछु र आन्दोलनकारीलाई तर्साउनुभन्दा पनि सरकारी मापदण्डअनुसार शिक्षक दरबन्दीको ब्यवस्था गर्न विशेष माग गर्दछु । अन्यथा नेपाली जनता बंगलादेश झै सडकमा उत्रिन बाध्य हुने बिश्वास प्रकट गर्दछु ।’

पछिल्लो समय आजपा निकटको आम विद्यार्थी मोर्चाले मधेश प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ । मधेशका सयौं विद्यालयमा विद्यार्थी मोर्चाले संगठन बिस्तार गरेको छ । विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहसहितका विद्यार्थी एवं पार्टीका नेताहरु संगठन निर्माण, पुनर्गठन गर्दै संघर्षका कार्यक्रमअनुसार अगाडि बढिरहेका छन् । जसको कारण ओली सरकार तर्सिएर आन्दोलन दबाउन साम्प्रदायिक हर्कत गरिरहेको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले बताए ।

आजपा मधेश प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आमशैक्षिक हडतालका साथै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेशमा कार्तिक ५ गतेदेखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यसअघि आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेको छ ।

आजपाले मधेसका जिल्लाहरुमा भदौ २५ गतेदेखि ३० गतेसम्म प्रत्येक विद्यालयहरुमा संघर्ष समिति गठन गरेको छ । मधेशका विभिन्न जिल्ला र प्रमुख शहरहरुमा असोज २ गतेदेखि ४ गतेसम्म विद्यार्थीहरुको विशेष प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसको दिन (असोज ३ गते) संविधानको अन्त्यष्टि यात्रा प्रत्येक जिल्लामा निकाल्ने र वीरगञ्ज र जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ । यसैगरी, असोज ९ गते देखी २० गतेसम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थाको विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने र कार्तिक ५ गतेदेखि आमशैक्षिक हडताल गर्ने घोषणा आजपाले यसअघि नै गरिसकेको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साहले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक–पटक माग गर्दासमेत कुनै सुनुवाई नभएको कारण बाध्यभएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । यस विषयमा सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको तर सरकारले नसुनेको उनले बताए ।

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दानै विभेदकारी रुपमा निर्धारण गरिएको आजपाको ठहर छ । मापदण्डअनुसार तराई मधेशमा शिक्षकको व्यवस्था शिक्षा मन्त्रालयले नगरेको आजपा केन्द्रीय सदस्य तथा लेखक डा.हेमप्रसाद साह बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्