काठमाडौं, १ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ध्रुबबहादुर प्रधानले सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता पुष्टि भएको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गोर्खा मिडिया सञ्चालनका लागि सबै पैसा सहकारीबाट आएको पाइएको र खर्च गर्ने प्रक्रियामा रवि लामिछानेको मात्रै हात देखिएको बताएका हुन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको सदस्यसमेत रहेका नेता प्रधानले कुनै पनि कम्पनीको प्रबन्ध निर्देशकले पैसा कहाँबाट आयो, मलाई थाहा भएन भनेर उन्मुक्ति नपाउने बताए । रवि लामिछानेकै नाममा सहकारीबाट तीन करोड रुपैया आएको भेटिएको उनले बताए । त्यसबारे लामिछानेले ‘मलाई थाहा छैन’ भन्ने जवाफ दिएको उनले बताए ।
‘उहाँलाई हामीले चार्ज गर्न खोजेको होईन । तर, गार्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको रुपमा आर्थिक कारोबार उहाँले गर्नुभएको छ । खर्च जति आफ्नो हिसाबले गर्नुभएको छ । सहकारीको पैसा गोर्खा मिडिया गएको हो, आर्थिक सञ्चालन उहाँले गर्नुभएको छ ।’ नेता प्रधानले भने, ‘गोर्खा मिडियामा जीबी राईसँग भएर ६५ करोड रुपैयाँ गएको छ । प्रत्यक्ष रुपमा रवि लामिछानेको नाममा तीन करोड रुपैयाँ उहाँको नाम उल्लेख भएर सहकारीबाट गएको छ । यस सम्बन्धमा उहाँले स्वेच्छाले लिखित गरेर दिनुभएको छ, आएको रकम हो, तर मैले कही दस्तखत गरेको छैन, केही कुरा उल्लेख गरेको छैन, कसरी भयो मलाई थाहा छैन भन्नुभएको छ । ६५ करोड रुपैयाँ त्यो संस्थामा कसरी आयो भन्ने पनि उहाँलाई थाहा छैन । त्यसो भन्दाखेरी प्रबन्ध निर्देशक भइसकेको व्यक्तिले त्यसो भन्न मिल्दैन भनेर हामीले लेखेका छौं ।’
सहकारीबाट गोर्खा मिडियामा आएको सबै पैसा खर्च गर्ने प्रक्रियामा रविले एकछत्र मनोमानी गरेको पाइएको उनले बताए । गोर्खा मिडियाले तीन जना सञ्चालकमध्ये जसको हस्ताक्षर प्रयोग गरेर पनि पैसा निकाल्न मिल्नेगरी बैंक खाता खोलेको पाइएको उनले बताए । त्यसमा सहकारीबाट आएको रकममध्ये ४० लाख जिबी राईको हस्ताक्षरबाट निकालिएको र अरु सबै रवि लामिछानेको हस्ताक्षर प्रयोग भएको उनले बताए । ‘चेक अपरेट प्रायः उहाँले मात्रै गर्नुभएको छ । तीन जनामध्ये कुनै एकले दस्तखत गर्दाखेरी सबै रकम निकाल्न सकिने अवस्था थियो । उहाँले करोडौं रुपैयाँको चेक पनि आफैं इस्यू गर्नुभएको छ । केही रकम जीबी राईले एउटा चेकबाट ४० लाखको गर्नुभएको छ । त्यो सबै सञ्चालन गरिरहेको अवस्थामा उहाँको संलग्नता के हुन्छ भनेर विश्लेषकहरुले आफैं पनि गर्नसक्छन्,’– उनले भने ।
नेता प्रधानले यस्तो प्रकारको अरु केशमा कुनै पनि सञ्चालकलाई छुट नदिइएको बताए । सहकारीको रकम कुनै पनि प्राइभेट कम्पनीमा लान मिल्दैन भन्ने कानुनी व्यवस्था रहेको अवस्थामा प्रबन्ध निर्देशक रहेका लामिछानेले उन्मुक्ति नपाउने उनले बताए । समितिले कसैप्रति पनि बायस नभई अनुसन्धान गरेको उनले बताए ।
‘यसबाट कारबाही हुन्छ कि हुँदैन भन्ने सन्दर्भमा हामीले कारबाही हुन्छ भन्ने कुरा पनि लेखेका छौं । रवि लामिछानेको विशेषता पत्रकारिता हो । उहाँले मिडियामा रहेर राम्रो नाम कमाउनुभयो । गोर्खा मिडिया नेटवर्क खडा गर्ने आइडिया नै उहाँको भनेर बयानको क्रममा सबैले भने । जति पनि अपचलनहरुको कुरा जिबी राई अहिले फेला गरेका छैनन् । भइरहेका तीन जनाको बयान हामीले राखेका छौं । फेला नपरेको मान्छेलाई सबै जिम्मेवार बनाउने भन्दा पनि जसको भागिदार उहाँहरु पनि हुनुहुन्छ भन्ने कुरा हामीले गर्यौं ।’ उनले भने, ‘रवि लामिछानेको विशेषता उहाँ राष्ट्रिय राजनीतिमा र एउटा पार्टीको सभापति हुनुहुन्छ । जिबी राई नआएसम्म जिबी राईसँग संलग्न रहेका कयौं, जुन सहकारी छन्, त्यसको समस्या समाधान हुन सक्दैन । जहाँ पैसा गएको छ, त्यो गोर्खा मिडिया नेटवर्कमा गएको छ । त्यो समाधान गर्नका लागि जिम्मेवारी रवि लामिछानेको हो । उहाँले म संलग्न छैन, लिएको छैन भन्न मिल्दैन ।’ File Photo/RN