Logo

फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव, आगामी पाँच वर्षमा २० करोड सामाजिक कार्यमा योगदान गर्ने प्रतिबद्धता



काठमाडौं, १ असोज । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १९औं वार्षिकोत्सव मनाएको छ । आज (मंगलबार) १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनसमेत घोषणा गरेको छ । प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बीर कायुमोभका अनुसार १९ वर्षको अवधिमा एनसेलले स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा २ अर्बभन्दा बढीको सामाजिक कार्य गरेको बताए ।

‘विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरि रु २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढिको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,’– कार्यकारी अधिकृत कायुमोभले भने ।

एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । फाउन्डेसनको उद्देश्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

एनसेलले वृहत्तर हितको पक्षमा सामाजिक कार्यहरु गरेको उल्लेखनीय ट्र्याक रेकर्ड छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको थियो ।

साथै, आफ्ना परिवारजन तथा आफन्तहरुसँग सम्पर्कमा रहिरहन कम्पनीले ग्राहकहरुलाई १ अर्ब ६० करोड बराबरको सेवा सुविधाहरु निःशुल्क उपलब्ध गराएको थियो । कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो ।

गत वर्षको जाजरकोट भुकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई ५० लाख सहयोग उपलब्ध गराएको थियो । भुकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरुलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।

त्यसैगरी, २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरुको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गरेको थियो । १९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेलले आगामी ५ वर्षमा कम्पनीले कम्तिमा २० करोड सामाजिक पहलहरुमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

एनसेलले आफ्नो १९औं वार्षिकोत्सवका अवसरमा पारा ओलम्पिकमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई पनि सम्मान गरेको छ । फोटोः दिनेश चौधरी/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्