Logo

दलको नाम फेर्न रास्वपालाई विश्वप्रकाशको सुझाव, रविलाई प्रश्न, ‘क्लिन चिट कि क्लियर चिट ?’



काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दलको नाम फेर्न सुझाव दिएका छन् । रास्वपाको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामना दिँदै उनले अब दलको नाम जुराउने साहस राख्न भनेका छन् ।

‘नयाँ दलको प्रथम राष्ट्रिय सम्मेलन सफलताको शुभकामना सहित दुई सुझाव । पहिलो, कतिपय असन्तुष्टिको माहौलमा ‘स्वतन्त्र’ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग ‘क्यास’ गर्न ‘स्वतन्त्र’ नाम रोज्नुभो । एउटा आकार बनाउनुभो । अब ‘स्वतन्त्र’ छोडेर दलको नाम जुराउने साहस राख्नोस् । शुभकामना,’– महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

साथै, उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनबारे पनि आफ्ना धारणा राखेका छन् । समितिले रास्वपा सभापति रवि लामिछानेलाई प्रचलित कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने भनेकाले क्लिन चिट नदिएर क्लियर चिट दिएको टिप्पणी गरेका छन् ।

‘दोस्रो, क्लिन चिट कि ? क्लियर चिट ? स्पष्ट हुनोस् । प्रचलित कानुन बमोजिम कारबाहीकालागि सिफारिस गर्ने, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं । बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ, बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्