Logo

कांग्रेस-एमालेको मनोमानी कायम गर्न गठबन्धन बनेको होईनः मन्त्री पाण्डे



काठमाडौँ, १ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देश विकासका लागि देखिएका समस्या समाधान गर्न दुई प्रतिष्पर्धी पार्टी एकठाउँमा उभिनुपरेको बताएका छन् ।

नेपाल पर्वतारोहण सङ्घको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले देशमा देखिएका समस्या समाधान र चुनौतीको सामना गर्न कांग्रेस–एमाले एकठाउँमा उभिन तयार भएको बताएका हुन् ।

‘हामी एकताबद्ध भएर सबै प्रकारका समस्या समाधान गर्न चाहन्छौँ । यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपालगायत सबैलाई जोडेर काम गर्न चाहन्छौँ । दुई पार्टीको मनोमानी कायम गर्नका लागि गठबन्धन बनेको होइन,’– उनले भने ।

अहिले द्वन्द्व र एकअर्काको खुट्टा तान्ने समय नभएको उल्लेख गर्दै उनले सबै मिलेर देशलाई बनाउने बेला भएको धारणा राखे । “देश बनेपछि राजनीतिक प्रतिष्पर्धा गरौँला । त्यसैले कम्तीमा विसं २०८४ सम्म नेपाललाई एउटा गतिमा अघि बढाउने गरी सहकार्य गरौँ । त्यसपछि स्थिर शासन, स्थिर अर्थतन्त्रसहित स्वच्छ प्रतिस्पर्धासहित अगाडि बढ्नु त छँदैछ”, उनले भने ।

आउँदो संसद् अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने र यसले पर्यटन क्षेत्र थप चलायमान हुने मन्त्री पाण्डेले आशा व्यक्त गरे । उनले संस्कृति, पर्यटन र उड्डयन नीतिमा आवश्यक परिमार्जन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउँदै हवाई क्षेत्र सुरक्षित राख्ने विषयमा आफ्नो ध्यान रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्