Logo

रविलाई सुर्य थापाको प्रश्न: कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ ? जान्नेलाई छान्नेहरूले डिस्टोर्सन गर्ने ?



काठमाडौं,२ असोज । सहकारी रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन समितिका सभापति तथा नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन समितिको प्रतिवेदन सर्वसम्मतरुपमा आएको बताएका छन् ।

मंगलबार राती प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै थापाले समितिका सातै जना सदस्यको सर्वसम्मतीले प्रतिवेदन पास भएको बताएका छन् । थापाले समितिले रास्वपाका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कुनैपनि क्लिन चिट नदिएको प्रष्ट पारेका छन् ।

‘समितिले जे निर्णय गरेको छ । भदौं ३१ गते दिउँसो हामीले जुन निर्णयमा सातै जना सदस्यले हस्ताक्षर गरेका छौं । सो प्रतिवेदनको निष्कर्ष, सुझाव र सिफारिस खण्ड सबै सञ्चार माध्ययममा पुगिसकेको छ । त्यो प्रतिवेदनको अंश स्वयं रवि लामिछानेलाई पनि पुगेको छ । कारबाहीको सिफारिस गर्ने भनेको अंग्रेजिमा भन्दा क्लिन चिट हो’ उनले प्रश्न गर्दै भने ‘हामीले रविसहितका मानिसको नाम किटान गरेर कारबाही सिफारिस गरेका छौं । समितिले गरेको निर्णय त्यति हो । के के निर्णय भएको भन्ने कुरा सबैलाई प्रष्ट भएको छ । सातै जना माननीयज्यूले हस्ताक्षर गर्नु भएको छ’ ।

सभापति थापाले सो प्रतिवेदन अब संसदको अंग बनिसकेको र त्यसको निष्कर्षलाई रास्वपाका नेताहरूले अपव्याख्या गरिरहेको बताउँदै कुन लाइन, कुन हरफमा क्लिन चिट लेखिएको छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिवेदन संसदलाई बुझाएलगत्तै रास्वपाका सभापति लामिछानेसहित नेताहरूले सहकारीको बचत अपचलनमा आफ्नो भूमिका नदेखिएको भन्दै छानबिन समितिले क्लिन चिट दिएको बताएका थिए। रास्वपाका नेताहरु रविले सफाइ पाएको भन्दै उफ्रिरहँदा क्लिन थापाले यस्तो बताएका हुन्।

‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौं हामीलाई छान्नुस् भन्ने‍ मानिसले प्रतिवेदनमा लेखेको, चस्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने ?’ उनले प्रश्न गर्दै भने, ‘क्लिन चिट कहाँ छ ? कुन लाइन, कुन प्यारामा छ ?कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ। सफाइ हुन्छ ? कहाँ पढ्नुभएको हो, कुन स्कुलमा हो ? कुन विश्वविद्यालयमा हो। म त यो भन्नु पर्‍यो नि त !’

उनले राज्यका तत् तत् निकायलाई अनुसन्धान, कारबाही गर्न सिफारिस गरिसकिएकाले समितिका सभापतिलाई प्रतिवेदनबारे थप जवाफ दिन बाध्य नपार्न पनि भनेका छन्। ‘यो बाध्य नपार्नुस् न। समितिले गरेको निर्णय मैले एक्लै गरेको निर्णय होइन। त्यो संसदको अंग हो,’ उनले भने।

थापाले गोरखा मिडिया नेटवर्कले ग्यालेक्सी फोर के टिभी लगायतका मिडिया सञ्चालन गर्न सबै सहकारीको पैसा खर्च गरेको बताएका छन्। ‘गोरखा मिडिया निटवर्कले खर्च गरेकोमध्ये ६५ करोडभन्दा बढी रकम सहकारीहरूबाट त्यहाँ प्रवाह भएको छ। सूर्यदर्शन, सुप्रिम, सहारा, सानोपाइला र स्वर्णलक्ष्मी गरी पाँच वटा सहकारीबाट पैसा प्रवाह भएको छ। त्यो ६५ करोडबाहेक गोरखा मिडिया नेटवर्कले एक वर्षमा कमाएको १० करोड गएको छ। अरू कहीँको फुटेको कौडी गएको छैन। सबै सहकारीको पैसा गएको छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्