Logo

शिक्षा मन्त्रालयबाट यस वर्षको पुरस्कार, विभुषण र विद्यापदक पाउनेको नाम सार्वजनिक (सूचीसहित)



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको पुरस्कार, विभुषण र विद्यापदक पाउनेहरूको सूची सार्वजनिक गरेको छ ।

 बुधवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा सचिव डाक्टर दीपक काफ्लेले पुरस्कार पाउने विश्वविद्यालयका शिक्षक तथा कर्मचारीको विवरण सार्वजनिक गरेका हुन् ।

सूचीअनुसार सामुदायिक प्राविधिक क्याम्पसतर्फ कास्की, ललितपुर र काठमाडौंका तीनवटा शिक्षण संस्थाले उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पाउँदै छन् । यो पुरस्कारको राशी दुई लाख ५० हजार रुपैयाँ छ ।

माध्यमिक शिक्षामा उत्कृष्ट नतिजाका आधारमा सार्वजनिक विद्यालयतर्फ दाङका दुई र काठमाडौंको एउटाले राष्ट्रिय शिक्षा पुरस्कार पाउँदै छन् । यसमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश तीन, दुई र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । निजी लगानीतर्फ राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा तीनवटै काठमाडौंका विद्यालय छन् । यसको राशी भने तीनलाख रुपैयाँ रहेको छ ।

प्राविधिक शिक्षालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कार पाउनेमा काभ्रे, दाङ, कपिलवस्तु र काठमाडौंको एक–एक शिक्षालय छन् । यो पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

यस्तै, समाज कल्याण शिक्षा पुरस्कार पाउनेमा काठमाडौं र ललितपुरका एक–एक संस्था छन् । यो पुरस्कारको राशी दुई लाख रुपैयाँ छ ।

व्यक्तितर्फ त्रिभुवन विशवविद्यालयअन्तर्गत विभिन्न क्याम्पसका २५ शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार दिइँदैछ । प्राविधिक शिक्षालयका प्रशिक्षक तथा कर्मचारीतर्फ यही विधाको पुरस्कार अछाम, लमजुङ, डोटी र चितवनका पाँचजनाले प्राप्त गर्दै छन् । सार्वजनिक विद्यालयतर्फ यही विधाको पुरस्कार कोसी प्रदेशका १४, मधेसका आठ, वाग्मतीका १३, गण्डकीका आठ, लुम्बिनीका १२, कर्णालीका १० र सुदूरपश्चिमका ९ जना शिक्षकले प्राप्त गर्दै छन् ।

निजी विद्यालयतर्फ सबै प्रदेशका गरी ३२ जनालाई यो विधाको पुरस्कार दिइँदैछ ।यस्तै, विद्यालय कर्मचारी, व्यवस्थापन समिति, पदाधिकारीलगायत गरी प्रत्येक प्रदेशका पाँचजनाका दरले ३५ जनाको नाम सूचीमा उल्लेख छ ।

उच्च शिक्षातर्फ विद्याभुषण ‘क’ ३६४ जना व्यक्तिले प्राप्त गर्दै छन् । विद्याभूषण ‘ख’ ३५ र ‘ग’ २१ जनाले प्राप्त गर्दै छन् । नेपाल छात्रापदक भने यसवर्ष १५ जनाले प्राप्त गर्दै छन् ।



प्रतिक्रिया दिनुहोस्