Logo

चलचित्र ‘खुस्मा’ को प्रिमियरमा धिरज र उपासनाको तारिफ,दर्शकको साथ पाउला ?



काठमाडौँ । फिल्म ‘खुस्मा’ को प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ। हिजो साँझ कमलपोखरस्थित बिग मुभिजमा गरिएको प्रिमियर शोमा राजनीतिज्ञदेखि चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो।

प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछनाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्वाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्वय सलिनमान बनियाँ र आर्शिवाद क्षत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर फिल्म हेर्न पुगेका थिए।

फिल्म हेरेपछि सबैले सिनेमा उत्कृष्ट बनेको भन्दै निर्देशक अशोक थापा मगर निर्देशकिय पक्ष तथा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको प्रशंसा गरे।

यो फिल्म असोज ३ गते संविधान दिवसका अवसरमा रिलिज हुदैछ। एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन्।

उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो।

यस फिल्मको सार्वजनिक गीत र ट्रेलरले दर्शकले रुचाएका छन्। जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन्। त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ। तर, यूट्युव र प्रिमियर सो मा देखिने उत्साह हलमा नदेखिने समस्या नेपाली चलचित्रको लागि पूरानै रोग हो । यसअघि गत साता प्रदर्शनमा आएको रावायणले पनि यस्को पुष्टि गरिसकेको छ । चर्चित नायक पल शाह अभिनित चलचित्र रावायण हलमा लागेको केही दिनमै उत्रिन बाध्य भईसकेको छ ।

यस फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु) , सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ।



प्रतिक्रिया दिनुहोस्