Logo

स्वास्थ्यलाभको कामना गर्दा एमालेका नेताहरु रिसाउनु भयो, विश्वासको मत दिएर थप रिसाउन दिँदैनौं: पूर्वमुख्यमन्त्री राई



काठमाडौं,२ असोज । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सभा सदस्य राजेन्द्र राईले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको छलफलमाथि बोल्दै पूर्व मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले एमालेले आफ्नो दलको विश्वासको मत आवश्यक नपरेको बताएका छन् । फरक प्रशंगमा राईले एमालेका नेताहरु स्वास्थ्यलाभको कामना गर्दासमेत रिसाएको भन्दै विश्वासको मत दिएर थप रिसाउन नदिने बताए ।

‘मुख्यमन्त्रीज्यूले विश्वासको मत माग्नु भयो । यसअघि एकपटक हामीले उहाँलाई विश्वासको मत दिएका हौं । तर वास्तवमा उहाँलाई हाम्रो दलको मत आवश्यक रहेनछ । हामीले त्यो मतको अनुभव गर्न पाएनौं । एमालेका साथीहरु स्वास्थ्य लाभको शुभकामना दिँदासमेत रिसाउनुहुन्छ । विश्वासको मत दिँदा पनि रिसाउनु होला’ उनले भने ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

केन्द्रमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले–कांग्रेसको सरकार रहेको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्