Logo

राप्रपाको सुभेच्छा: कलियुगमा यस्तै हुन्छ, अप्राकृतिक नै भएपनि कांग्रेस-एमालेको गठबन्धन निर्वाचनसम्मै जाओस्



काठमाडौं । कोशी प्रदेश राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले नेकपा एमाले र कांग्रेसबीचको सत्ता गठबन्धन अप्राकृतिक रहेको जिकिर गरेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनको लागि राखेको प्रस्तावमाथिको छलफलमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका सिटौलाले कांग्रेस र एमालेको विचारधारा नै फरक रहेको हुँदा यो गठबन्धन अस्वभाविक रहेको बताए । ‘कहाँको प्रजातान्त्रिक विचारधार बोक्ने कांग्रेस अनि कहाँ वामपन्थी धारको एमाले । यी दुई दलबीच कुनैपनि सिद्धान्त मिल्दैन । यसर्थ यो सरासर अप्राकृतिक गठबन्धन हो’ उनले भने ।

सिटौलाले अप्राकृतिक नै भएपनि यो गठबन्धन आगामी निर्वाचन सम्मै टिकोस् भन्ने सुभेच्छासमेत व्यक्त गरेका छन् । ‘यो कलियुग हो । कलियुगमा यस्तै हुन्छ भन्छन् । अप्राकृतिक नै भएपनि यो गठबन्धन आगामी निर्वाचनसम्म नै जाओस् । हाम्रो सुभेच्छा छ । शुभकामना छ ’उनले भने ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

केन्द्रमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले–कांग्रेसको सरकार रहेको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्