Logo

सिटौलाले प्रदेशको विरोध गरेपछि कांग्रेस सांसदले सोधे: के पञ्चायती शासन व्यवस्थामा यस्तो बोल्न सम्भव थियो ?



काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले आफू सत्तामा हुँदा जे पनि ठीक र विपक्षीमा पुगेपछि सबै गलत भन्ने भाष्य निर्माण नगर्न माओवादी केन्द्रलाई आग्रह गरेका छन् ।

बुधबार प्रदेश सभामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै कार्कीले आफू हुँदामात्र राम्रो देख्ने प्रवृत्ति त्याग्न अनुरोध गरे ।

उनले भने, “नेपालमा कांग्रेस र कम्युनिष्ट मिलेर ठूला ठूला आन्दोलन भई परिवर्तन भएको छ । २०४६ होस् कि २०६२/०६३ त्यसकै परिणाम थियो ।” कार्कीले लोकतन्त्र र गणतन्त्रको सुन्दर पक्ष भनेकै जनअधिकार रक्षा रहेको भन्दै स्थायित्व अहिलेको आवश्यकता भएकोमा जोड दिए ।

माओवादी संसदीय दलले लगाएको ‘नयाँ गठबन्धन र सरकार माफिया र दलालहरूको संरक्षणका लागि भएको हो’ भन्ने आरोपको खण्डन गर्दै विकासलाई गति दिन नयाँ गठबन्धन भएको दाबी गरे ।

संविधान मान्दिनँ भन्ने राप्रपाले समेत सदनमा आएर आफ्ना कुरा राख्ने अवसर नयाँ व्यवस्थाअनुरुप नै प्राप्त भएको भन्दै ‘के पञ्चायती शासन व्यवस्थामा यो सम्भव थियो ?” भन्दै प्रश्न गरे । कार्कीले आफू सरकारमा छँदा सबै ठिक र बाहिँरिनासाथ सबै बेठिक भन्ने परिपाटी ठिक नभएको भन्दै माओवादीको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्