Logo

क्याम्पस प्रमुख आचार्य, स्ववियू सभापति बस्नेतसहितको मिलेमतोमा शंकर देवमा अवैध भर्ना



काठमाडौं, ३ असोज । शंकर देव क्याम्पसले बीबीए र बीबीए फाइनन्स कोर्समा मेरिट लिस्टमा नाम नै नभएका विद्यार्थीहरु भर्ना गरेको पाइएको छ । क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुशान्तसिंह बस्नेत, बीबीए डाइरेक्टर सुमनकमल पराजुली, डेपुटी डाइरेक्टर ऋषिराज पन्त र बीबीए फाइनन्सका डेपुटी डाइरेक्टर दीपक बस्नेतको मिलेमतोमा मेरिट लिष्टमा नाम नभएका विद्यार्थी भर्ना गरिएको पाइएको छ ।

मेरिट लिष्टमा भर्ना हुन योग्य विद्यार्थीको सूची निकाल्न पर्ने हुन्छ । निर्धारित समयमा मेरिट लिस्टमा परेका विद्यार्थीहरु भर्ना नभएमा वेइटिङ सूचीमा रहेकालाई भर्ना हुन आह्वान गरी सूचना निकाल्नु पर्ने हुन्छ । तर, मेरिट लिष्टमा नाम नै नभएका २० जनाभन्दा बढी विद्यार्थी भर्ना गरिएको छ ।

सिम्याट परीक्षाको ५० अंक, कक्षा १२ को जीपीएबाट ४० र अन्तरवार्ताको १० गरी मेरिट लिस्टमा नाम सार्वजनिक गरिएको थियो । सोही आधारमा बीबीएमा ९९ जना र बीबीए फाइनन्समा ६६ जनाको नाम सार्वजनिक भएको थियो । तर, शंकर देव क्याम्पसले वेइटिङ सूची नै ननिकाली आफ्ना मान्छे र कार्यकर्ता भर्ना गरेको हो ।

क्याम्पस प्रशासन र केही व्यक्तिको स्वार्थमा गैरकानुनी भर्ना गरिएको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले विरोध गरिरहेका छन् । नियमविपरीतको भर्ना तत्काल रद्द गरी वेइटिङ सहित मेरिट लिस्ट को सूची प्रकाशन गरेर भर्ना लिइनुपर्ने विद्यार्थी संगठनहरुको माग छ ।



प्रतिक्रिया दिनुहोस्