Logo

रास्वपा लोकतन्त्रप्रतिको प्रतिवद्धताबाट दायाँबायाँ हल्लिदैनः रवि लामिछाने



काठमाडौं, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानले जे भनेको छ त्यही नगरिएर मनलाग्दी भइरहेको बताएका छन् । आज (बिहीबार) संविधान दिवसको अवसरमा रास्वपाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिस्टमलाई नटेरेर मनलाग्दी हुँदा नागरिकमा वितृष्णा बढ्दै गएको बताएका हुन् ।

‘संविधानले जे भनेको हो, त्यही गर्नुपर्छ । संविधानले भनेको कुरा गर्दाखेरी भएको रहेनछ भने त्यसपछि त्यहाँ संशोधनका कुराहरु आउनसक्छन् । तर, संविधानले भनेको कुरा गरिएको छैन । सिस्टमलाई टेरिएको छैन । मनलाग्दी गरिएको छ । त्यस्तो भएपछि मानिसहरुलाई व्यवस्थाप्रति वितृष्णा आउँछ । व्यवस्था नै ठीक छैन भनेजस्तो कुरा आउँछ । अधिनायकवाद सिर्जना हुनथाल्छ,’– उनले भने ।

साथै, उनले रास्वपा लोकतन्त्रको प्रतिवद्धताबाट दायाँबायाँ नहल्लिने र अरु कसैलाई त्यो प्रतिवद्धताबाट हल्लिन पनि नदिने बताए । अहिले जनतामा वितृष्णा बढ्दै गएको अवस्थामा समाधान पनि विधिकै माध्यामबाट खोजी गरिनुपर्ने बताए । सिस्टमलाई काम गर्न दिँदा वर्तमान व्यवस्थामा तागत रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्