Logo

उपसभामुख रानामाथि घोर अन्याय हुँदैथियो, त्यसकारण माओवादी पक्षमा उभियोः प्रचण्ड



काठमाडौं, ४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानाविरुद्ध घोर अन्याय हुन लागेको देखेर आफूहरु सरकारको कदमको प्रतिवादमा उत्रिएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपसभामुख रानाले अमेरिकी दूतावासलाई चिठी लेख्नु केक्निकल्ली गल्ती भएपनि उठाउनुपर्ने कुनै कारण नरहेको बताए ।

‘उपसभामुखलाई त बचाउन पर्ने नै थियो । उपसभामुखमाथि घोर अन्याय हुँदैथियो । त्यसकारण बचाउनै पर्थ्यो । मैले भनेको के हो भने उपसभामुखले जुन चिठी लेखेको त्यो डेढ वर्ष अगाडिको छ । त्योअनुसार कोही मान्छे अमेरिका गएको पनि छैन । त्यो लेटरप्याडमा चिठी नलेखेकै भए हुन्थ्यो । त्यहाँ केही टेक्निकल्ली त्रुटी त भएकै छ । तर, त्यो महाअभियोग लगाउनुपर्ने त्रुटी कहीँकतै देखिँदैन,’– उनले भने ।

करोडौं, अर्बौं भ्रष्टाचारका काण्डबारे वास्ता नगरेको सरकारले चिठी लेखेकै भरमा हटान खोज्दा उपसभामुख राना महिला, जनजाति र बालबच्चाहरुको स्याहार संहार गरेर देश र विदेशमा पनि ख्याति प्राप्त गरेको महिला हुन् भन्ने कुरा पनि विर्सन नहुने प्रचण्डको भनाइ छ ।

‘महिला, जनजाति र बालबच्चाहरुको स्याहार संहार गरेर देश र विदेशमा पनि ख्याति प्राप्त गरेको महिला भन्ने पनि विर्सन हुँदैन । यहाँ कत्रा–कत्रा भष्टाचारी अहिले कहाँ–कहाँ पुगेका छन्, तिनलाई केही भन्नु छैन । कस्तो लाजमर्दो कुरा हो यो । करोडौं, अर्बौं भ्रष्टाचार भएको कुरा बाहिर आइरहेको छ,’– प्रचण्डले भने ।

आफू नेतृत्वको सरकारले भ्रष्टाचारको विरुद्धमा काम गरिरहेको अवस्थामा हटाइएको उनले बताए । बहुमत नभएर गठबन्धनको सरकार हुँदा पनि इतिहासमा अहिलेसम्म नभएका ठूला–ठूला काण्डमा छानविन र दोषीलाई कारबाही भएको उनले बताए । अहिले माओवादीको पक्षमा उभार रहेको दाबी गर्दै उनले देशमा सुशासन र भ्रष्टाचारको अन्त्यका लागि आगामी निर्वाचनमा बहुमत दिन आग्रह गरे ।

‘मैले गर्दैथिए । मसँग बहुमत भएको भए त म बेस्सरी ठोकिदिन्थेँ । अहिले नेपाली जनतासँग मैले अपील गरिराखेको छु । यदि देशमा सुशासन चाहिने हो भने, भ्रष्टाचारलाई निर्मूल गर्ने हो भने माओवादीलाई बहुमत चाहियो भनेको छु । माओवादीको पक्षमा अहिले ठूलो उभार छ,’– उनले भने ।

अमेरिकामा आयोजना हुने एक कार्यक्रममा जानका लागि अन्तरवार्ताको मिति अगाडि सारिदिन भन्दै उपसभामुख रानाले केही युवाहरुको नाम सिफारिस गरेर अमेरिकी राजदूतावासलाई लेखेको पत्र बाहिरिएको थियो । उक्त पत्रलाई लिएर कांग्रेस–एमालेले उपसभामुख रानाको राजीनामा माग गरेका थिए । कांग्रेस–एमालेले संसद्बाट दुई तिहाइ बहुमत पुर्याएर उपसभामुख रानालाई हटाउने तयारी गरेपनि अन्य सत्तारुढ दलले साथ नदिँदा ब्याक हुनुपरेको थियो ।



प्रतिक्रिया दिनुहोस्