Logo

हामी करिब-करिब युक्रेनको बाटोतिर जाँदैछौंः घनश्याम भुसाल



काठमाडौं, ४ असोज । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालको गणतन्त्र र समावाद नेतृत्वविहीन रहेको टिप्पणी गरेका छन् । एकीकृत समाजवादी बागमती प्रदेश कमिटीद्वारा आयोजित १० औं महाधिवेशनको सन्देश सभालाई सम्बोधन गर्दै उनले संविधान जारी भएको १० वर्षसम्म मुलुकले राम्रो नेता नपाउँदा देश धेरै अगाडि बढ्न नसकेको बताए ।

‘हाम्रो गणतन्त्र, हाम्रो समाजवाद नेतृत्वविहीन छ । मैले धेरै पटक दोहोर्याउने गरेको छु, एउटा परिवारमा राम्रो बाउ नहुनु, विश्वविद्यालयमा राम्रो प्रोफेसर नहुनु र मुलुकमा भरपर्दो नेता नहुनु अति दुःखद् हुन्छ । त्यसले त्यो मुलुकको जनता र इतिहासले कतिधेरै मूल्य तिर्छ भन्ने हाम्रो आफ्नै हेरौं, अरुको पनि हेरौं,’– उनले भने ।

अहिले मुलुक झन–झन अन्यौलग्रस्त भइरहेको उनको भनाइ छ । नेपाल करिब–करिब युक्रेनको बाटोमा जान लागेको टिप्पणी गरे । जनताको एकपछि अर्को आशा पूरा नभएको कारण यसको राम्रो सम्बोधन नभएमा देश डरलाग्दो भूमरीमा फस्ने खतरा रहेको उनले बताए ।

‘हामी करिब–करिब युक्रेनको बाटोतिर जाँदैछौं । एउटा पार्टी आयो, त्यसले गरेन, अर्को पार्टी आयो, त्यसले गरेन । अनेक नाराहरु दिए, सपना देखाए । तर, तिनीहरु असफल हुँदै गए । गर्दैगर्दै गए र एउटा पपुलिष्ट, राजनीतिबाट अलग रहेको एउटा पपुलिष्ट आएर जनतालाई राजनीतिक दलले भन्दा अझ धेरै वाचा देखायो । युक्रेनलाई लगेर युद्दमा होमिदियो । हाम्रो पनि बाटो करिब–करिब त्यस्तै हो ।’ उनले भने, ‘एकपछि अर्को आशा, होला कि हुँदैन, होला कि हुँदैन । र अहिले एक हिसाबले भन्ने हो भने इतिहास, इतिहासका पार्टीहरुप्रति, तिनीहरुले गरेका कामहरुप्रति, नेताहरुप्रति वितृष्णा, आक्रोश देखिँदैछ । यसको राम्रो सम्बोधन हुन सकेन, कहीँ न कहीँबाट भरपर्दो, क्रान्तिकारी हस्तक्षेप हुन सकेन भने हामी डरलाग्दो भूमरीतर्फ जाँदैछौं । भित्रभित्र त्यो सल्किरहेको छ ।’ File Photo



प्रतिक्रिया दिनुहोस्