Logo

कुम्मराजको बयानः ज्योतिले विटक्वाइनमा लगानी गर्न पैसा पठाइछिन्, धनराजले मौखिक प्रतिवद्धता पूरा गरेनन्



काठमाडौं, ४ भदौ । ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ स्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ कि पूर्वपत्नी ज्योति गुरुङले सहकारी ठगी गरेको पैसा विटक्वाइनमा लागनी गर्न हङ्कङ पठाएको जानकारी पाएको बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सन्दर्भमा संसदीय छानविन विशेष समितिलाई उनले दिएको बयानमा ज्योति गुरुङले १२ करोड ५० लाख रुपैया अपचलन गरेको बताएका छन् ।

अध्यक्ष कुम्मराजका अनुसार ज्योतिले उक्त पैसा बैंककमा बस्ने कांस्कीका ज्योतिबहादुर भण्डारीमार्फत विटक्वाइनमा लगानीको लागि हङकङ पठाएकी छन् । ज्योतिबहादुर भण्डारीले टेलिफोन गरी ज्योति गुरुङको पैसा म तिर्छु, उ सँग नमाग्नुसमेत भनेको कुम्मराजले खुलाएका छन् ।

कुम्मराजले ज्योति गुरुङबाट भएको अपचलन रकम फिर्ता गराउन सक्दा सहकारी सामान्य अवस्थामा फर्किनेसमेत बताएका छन् । ‘ज्योति गुरुङबाट अपचलन भएको रकम फिर्ता गर्न सकियो भने समस्या समाधान गर्न सकिन्छ । संस्थाका सञ्चालक समितिका ९ जना सदस्यसहित माननीय धनराज गुरुङ र उहाँकी श्रीमती ज्योति गुरुङ बसेर संस्थाको समस्या समाधान गर्छौं भन्ने मौखिक प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । तर, पूरा भएन । अहिले ज्योति गुरुङ कहाँ हुनुहुन्छ ? मेरो जानकारीमा छैन,’– कुम्मराजले बयानमा भनेका छन् ।

ज्योति गुरुङ सो सहकारीकी पूर्व प्रबन्ध निर्देशक हुन् । पदमा रहँदा उनले सो रकम दुरुपयोग गरेको बताइएको छ । सोही विषय मिलाउन धनराज र ज्योतिबीच कागजी डिभोर्ससमेत गरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्