Logo

राप्रपा प्रवक्ता शाहीको टिप्पणीः ‘देशको प्रधानमन्त्री विष्णु रिमाल हुन्, केपी ओली त नाममात्रै’



काठमाडौं, ५ असोज। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको राजकाज एमाले उपमहासचिव विष्णु रिमालले चलाइरहेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सीडीओदेखि मन्त्रालयका सचिवहरुको सरुवासम्म रिमालको रजगज रहेको टिप्पणी गरेका हुन् । हरेक निर्णय विष्णु रिमालले गर्ने गरेको उनको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रिमालले ल्याएको फाइल साइन गरेर पठाउने गरेको उनले बताए ।

‘प्रधानमन्त्री नै अहिले विष्णु रिमालले चलाउँछन् । को सीडिओलाई कहाँ सरुवा गर्ने ? विचरा एउटा जुम्लाको मान्छे, सहसचिव तीन महिनामात्रै सीडिओ हुनुभएको थियो सिन्धुपाल्चोकमा तानेर यहाँ ल्याए । कसले भनेको विष्णु रिमालले । अनि हरेक मन्त्रालयको सचिव चेन्ज गर्ने जाने, हरेक निर्णय गर्ने । केपी ओलीको काम त विष्णु रिमालले ल्याएको फाइलमा हस्ताक्षर गर्ने मात्रै हो ।’ नेता शाहीले भने, ‘सिग्नेचर पनि आफैं गर्छन् कि गर्दैनन् त्यो पनिशंका छ । उरन्ठेउलो काम गर्ने नै विष्णु रिमालले हो यो देशमा । अरु कसले गर्छ । अहिलेको हिडेन प्रधामन्त्री हो विष्णु रिमाल । केपी ओलीको त नाममात्रै हो ।’

आफूले दुई चार जना पूर्वमन्त्रीहरुलाई पनि सोधेको बताउँदै नेता शाहीले प्रधानमन्त्री ओलीले ‘सबै कुरा विष्णु रिमाललाई सोध’ भन्ने गरेको बताए । ‘प्रधानमन्त्रीलाई यो काम गरौं भन्दा पहिला विष्णु रिमाललाई सोध भन्छन् । जनताबाट वडाअध्यक्ष जित्ने हैसियत जसको छैन, उसले प्रधानमन्त्री चलाइरहेको छ देशको, अनि देश बन्छ ?’ उनले प्रश्न गरे ।

राप्रपाका प्रवक्ता शाहीले एमाले उपमहासचिव रिमाललाई हिम्मत भए जुम्लामा चुनाव लड्न आउन चुनौति दिए । उनले काठमाडौंको निर्वाचन क्षेत्र, वा रिमालको निर्वाचन क्षेत्र नुवाकोटमै आफू चुनाव लड्न आउन तयार रहेको पनि बताए । ‘विष्णुजी चुनाव लडौं जुम्लामा हिम्मत र दम छ भने । काठमाडौंको कुन निर्वाचन क्षेत्र छान्ने हो ? म त्यही आउँछु । तपाईको निर्वाचन क्षेत्र नुवाकोटमै आउँछु । सक्नुहुन्छ ? हैसियत वडाअध्यक्ष जित्ने पनि नहुने, अनि गुलामी गरेर प्रधानमन्त्री चलाउने ? अनि देश बन्छ ? उहाँको गज्जबको क्षमता भनेको नेताको जुत्ता उठाउने,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्