Logo

मैले नयाँ आन्दोलनको संकल्प गरिसकेँः प्रचण्ड



काठमाडौं, ५ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि नयाँ आन्दोलनको संकल्प गरिसकेको बताएका छन् । आज (शनिबार) अखिल नेपाल ट्रेड युनियन महासंघको राजनैतिक तथा वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अब जनयुद्धजस्तो नभएर जनता एकै पटक सडकमा आएर गर्ने क्रान्ति अबको विद्रोह हुने बताए ।

‘मैले फेरि नयाँ आन्दोलनको संकल्प गरिनै सकेँ । मैले तपाईहरुलाई विद्रोहमा आउनुस् भनेको छैन अहिले । म पहिला विद्रोहमा गएँ । म सरकारमा जाँदा पनि यो पटक सरकारबाट भ्रष्टाचारीको विरुद्ध जेहाद छेड्ने भनेर गएको थिए । अहिले देशभरी हामीलाई जनताले माया गरेको भ्रष्टाचारविरुद्ध लडे भनेर माया गरेका छन्, एउटा उभार आएको हो,’– उनले भने ।

आफूले खबरदारी गर्दै प्रतिनिधि सभामा ‘तिमीहरुले भनेको जस्तो हुनेछैन, हुन दिइँदैन’ भनेर विद्रोहको भाषमा धावा बोलेको पनि उनले बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिलेको संविधान मजदुरहरुको हितमा, उत्पीडित वर्ग, समुदायको पक्षमा परिमार्जन गर्न सकिने बताए ।

अहिले एकथरी मानिसहरुले जनतामा देखा परेको अनसन्तुष्टि र आक्रोशमा खेलेर फेरि सामन्तवाद नै फर्काउने कोशिसमा रहेको उनले बताए । त्यो असम्भव रहेको उनले बताए । कांग्रेस–एमालेले २०४७ साल वरिपरी फर्किन चाहेको उनले बताए । कांग्रेस–एमालेले वर्तमान संविधान पल्टाउँदा जता हेरेपनि माओवादी देखेपछि ०४७ साल वरपर फर्किन चाहेको उनले बताए । अध्यक्ष प्रचण्डले एमाले–कांग्रेसले संविधानमाथि झम्टिरहेको बताए ।

माओवादी फेरि जनता र वर्गतिर फर्किने भनेर कम्मर कसेर लागिपरेको उनले बताए । सातै प्रदेशको परामर्श कार्यक्रममा जाँदा माओवादीप्रति जनतामा विश्वास जागेको र माओवादीको पक्षमा उभार आएको आफूले पाएको बताए ।

‘पार्टी फेरि जनतातिर फर्किने, वर्गतिर फर्किने भनेर कम्मर कसेर लागेको छ । तपाईँहरुले देख्नुभएको छ– सातै प्रदेशमा अभियानको रुपमा हामी गयौं । परामर्श बैठक भए । तपाईँहरुले मेरो मर्निङ वाक पनि हेरिराख्नुभएकै होला । त्यो मर्निङ वाकमात्रै होईन । जनतालाई अपिल पनि हो । हामी आयौं तपाईँहरुतिर भनेर जनतालाई गरेको सम्बोधन पनि हो,’– प्रचण्डले भने ।

साथै, झापा, मोरङ र सुनसरीमा माओवादीप्रति असाधारण खालको उभार पाएको उनले बताए । माओवादी सरकारबाट बाहिर आउँदा जनतामा खुसियाली पाएको उनले बताए । ‘सरकारबाट बाहिर आएको त जनतामा खुसीयाली पो छ । सामान्यतः सरकारबाट बाहिर आएपछि अब बर्वाद भयो भनेर निरास हुनुको सट्टा म झापाबाट सुनसरी हुँदै मोरङसम्म पुग्दा राति ९/१० बजेसम्म मान्छे बसेको छन् । जयजयकार गरेका छन्,’– उनले भने । File Photo



प्रतिक्रिया दिनुहोस्