Logo

धनराज गुरुङमाथि सीआईबीले छानविन सुरु गरिसक्यो, दोषी देखिनुभयो भने जेल जानुहुन्छः विश्वप्रकाश शर्मा



काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टी उपसभापति धनराज गुरुङमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले छानविन सुरु गरिसकेको बताएका छन् । आज (शनिबार) कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुरुङमाथि छानविन सुरु गरेको र दोषी देखिएमा जेल जाने बताएका हुन् ।

‘नयाँ दल भनेर हुँदैन । नयाँ प्रवृत्तिको कुरा हो । नयाँ दलको सभापतिलाई सहकारी ठगीको आरोप लाग्यो । त्यो दलले हाम्रो सभापतिमाथि छानविन गर्न पाइँदैन भन्यो । पुरानो दलको उपसभापति धनराज गुरुङलाई सहकारी ठगीको आरोप लाग्यो । उहाँले आफैंले सदनमा उभिएर ममाथि छानविन गर भन्नुभयो । हामी भन्छौं हाम्रो उपसभापतिमाथि छानविन गरिनुपर्छ । छानविन गर्ने प्रक्रिया सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लागेको छैन । छानविन सीआईबीले गर्ने भयो । प्रक्रिया सुरु भएको छ । धनराज गुरुङ छानविन गर्दैगर्दा निदोर्ष देखिनुहुन्छ । माला लगाएर कांग्रेसको नेतृत्व गरेर अगाडि जानुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ,’– महामन्त्री शर्माले भने ।

गुरुङ ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएका छन् । उनकी पूर्व श्रीमती ज्योति गुरुङले सो सहकारीबाट १२ करोड ५० लाख रुपैया अपचलन गरेको आरोप छ । सो कार्यमा धनराजको पनि हात रहेको सहकारीका अध्यक्ष कुम्मराज गुरुङले बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्