Logo

कर्णालीका मन्त्री भण्डारीद्वारा जुम्लाका ५ वटा नवनिर्मित विद्यालय भवन हस्तान्तरण



काठमाडौं । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जुम्लाका ५ वटा विद्यालयको उद्घाटन र हस्तान्तरण गरेका छन् । मन्त्री भण्डारीले जिल्लाका हिमा, सिंजा र कनका सुन्दरी गाउँ पालिकामा निर्माण गरिएका ५ वटा बिद्यालयको उद्घाटन र हस्तान्तरण गरेका हुन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा पेस नेपाल जुम्लाद्धारा सञ्चालित आधार परियोजना अन्तर्गत जुम्ला जिल्लाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा निर्माण गरिएका पाँच वटा विद्यालय भवन, शौचालय र वालमैत्री, अपांगमैत्री धाराको उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले भौतिक संरचनाले सरकारी विद्यालयको शिक्षामा गुणस्तर ल्याउन सहयोगी भूमिका खेल्ने बताए । मन्त्री भण्डारीले बालबालिकाहरुलाई शहरका निजि विद्यालयमा पढाउने चलनको अन्त्य गर्नुपर्ने बताए ।

सरकारी विद्यालयलाई गुणस्तरमा नमूना बनाउन सबै पक्ष लाग्नु पर्नेमा सुझाव दिए । हुने खानेका छोराछोरी शहर केन्द्रित हुने, गरिबका छोराछोरी मात्रै सरकारी बिद्यालयमा अध्ययन गराउनु गलत रहेको उनले बताए ।

अविभावक, शिक्षक तथा छात्रछात्रालाई जिम्मेवार र इमान्दार बन्न पनि आग्रह गरे । भौतिक संरचना गुणस्तरका निर्माण भएपनि पठनपाठनमा ध्यान नदिए गुणस्तर कायम नहुने भन्दै मन्त्री भण्डारीले स्थानीय पाठ्यक्रम निर्माण गरी संस्कारसहितको शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए । पेस र प्लान इन्टरनेशनलले नमुना विद्यालय वनाएको प्रशसा गर्दे पहाड र हिमालमा चाहेमा सबै कुरा सम्भव रहेको बताए ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमूख गौरीनन्द आचार्यले टिनका छाना भएका निजि विद्यालयमा अध्ययन गराउने अभिभावकको प्रतिस्पर्धालाई अन्त्य नगरी सरकारी विद्यालय शिक्षामा गुणस्तर नआउने बताए । अंग्रेजीलाई प्राथमिकता दिनुनै गलत भएको जिकिर गर्दै प्रमूख आचार्यले शिक्षासँगका सरोकारवाला पक्षहरु नै गम्भीर र जिम्वेवार हुनुपर्ने सुझाव दिए ।

दातृ निकायको सहयोगमा विगत लामो समयदेखि पेस नेपाल जुम्लाले द्धन्द्ध रुपान्तरण, बिपद, जलवायू परिबर्तन, शिक्षा लगायतका क्षेत्रमा नमूना काम गरिरहेको स्मरण गर्दै प्रमूख आचार्यले जिल्लाका विकट बस्तीहरुको समस्याहरु समाधानमा निरन्तरता दिन आग्रह गरे ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले सरकारले चाहेर पनि आवस्यकताअनुसार भौतिक संरचनाहरु निर्माण गर्न नसकेको बेला सामाजिक संस्थाले गुणस्तरीय भवनहरु निर्माण गर्नु उदाहरणीय रहेको बताए ।

सामाजिक संस्था र सरकारको सहकार्यमा गुणस्तरीय शिक्षा लागु गर्न हातेमालो गरि यात्रा गर्नुपर्ने सचिव पोखरेलको सुझाव थियो ।

हिमा गाउँ पालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले प्लान इन्टरनेशनल नेपाल र पेस नेपालले पालिकाको समन्वयमा प्रत्यक्ष देखिने गरि गुणस्तरको काम गरेकोमा धन्यवाद दिँदै निरन्तर सहकार्यका लागि आग्रह गरे ।

सिंजा गाउँ पालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सामाजिक संस्थाले साँच्चिकै समाजको हितमा कार्य गरेको बताए । उनले पालिकाको विकट बस्तीमा नमूना भवन र शौचालय निर्माण कार्यले गुणस्तरीय शिक्षा लागु गर्न थप बल पुगेको समेत बताए ।

अध्यक्ष धितालले गाउँ नै अन्यत्र सार्नुपर्ने अबस्थामा विद्यालयको भवन निर्माण गरी हस्तान्तरण गरेकोमा प्लान इन्टरनेशन नेपाल र पेस नेपाललाई धन्यवाद व्यक्त गरे । नागरिकलाई प्रत्यक्ष राहत पुग्ने परियोजनाहरुमा पालिकाको सँधै सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे ।

कनकासुन्दरी गाउँ पालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले पेस नेपालले लामो समयदेखि स्थानिय सरकारसँगको समन्वयमा विभिन्न क्षेत्रमा नमूना कार्य गर्दै आएको स्मरण गराए । उनले पेस नेपालको उक्त कार्यप्रति धन्यवाद व्यक्त गर्दै पालिकाले चाहेर पनि गर्न नसक्ने सामूदायिक हितका कार्यमा निरन्तर सहकार्यका लागि आग्रह गरे ।

प्लान इन्टरनेशनल नेपालका निर्देशक जुली गुरुङ र शन्देस सिल्पाकारले कर्णालीका १० वटै जिल्लामा संस्थाले बिभिन्न क्षेत्रमा काम गरिरहेको बताए । उनीहरुले गुणस्तरीय शिक्षाका लागि भौतिक संरचनासँगै आवस्यक सामाग्रीहरु उपलब्ध भएकाले अध्ययन र अध्यापनमा विशेष जोड दिन सरोकारवालालाई आग्रह गरे ।

दुर्गम बस्तीहरुमा संस्थाको लक्ष्य अनुरुप पेस नेपालले गरेको कार्यको प्रशंसा गर्दै निर्देशकद्धयले आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे ।

प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय निर्देशक मिना पराजुलीले संस्थाले जहिले पनि आवश्यकतामा आधारित रहने र गुणस्तरीय शिक्षामा नेपालमा विगत ४५ वर्षदेखि नेपालमा आफ्ना गतिविधिहरु संचालन गदैआएको बताईन् । जुम्ला जिल्लामा सन २०१७ देखि कार्यक्रम निरन्तर गर्दै आइरहेको बताउँदै उनल विषम परिस्थितिमा नमुना काम गरेकोमा साझेदार संस्था पेस नेपाललाई धन्यवाद व्यक्त गरिन् ।

पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले संस्थाले आफ्नो पहिचान जलवायु परिवर्तन अनुकुलन, विपत जोखिम व्यवस्थापन, खाद्यसुरक्षा, खानेपानी सरसफाई स्वछता र गुणस्तरीय शिक्षामा नमुनागत रुपमा काम गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा छवि बनाउन सफल भएको बताए ।

निर्देशक न्यौपानेले हालसम्म गरेका कार्यक्रम पारदर्शिता, निश्पक्षता र जवाफदेहितालाई आत्मसाथ गर्दै कार्यक्रम संचालन गरेकामा हरेक कार्यक्रम प्रभावकारी भएकाले सामाजिक विकास मन्त्रीलगायत सम्बद्ध सबैलाई धन्यवाद दिदै पाँच वटा विद्यालय ३ करोड, ५० लाख, ३ सय, ८६ रुपैयामा सम्पन भएको विद्यालय भवनको संरक्षण गर्ने तथा यो मोडललाई पालिकाले अनुसरण गर्ने विश्वास ब्यक्त गरे ।

आधार परियोजना “जुम्ला जिल्लाका लक्षित विद्यालयहरूबाट वालवालिकालाई समावेशी, गुणस्तरीय, सुरक्षित र उत्थानशिल र सान्दर्भिक शिक्षामा पहुँच सुधार गर्दै उनीहरूले चाहेको भविष्य सुसज्जित बनाउने लक्ष्यसहित सञ्चालनमा छ । यो लक्ष्य, परियोजनाले सुरक्षित र पहुँचयोग्य समावेशी विद्यालय पूर्वाधार निर्माण गर्नुका साथै शैक्षिक वातावरण सुधार समर्थनमा सहयोग गर्नका लागि जुम्ला जिल्लाका हिमा, सिजा र कनकासुन्दरी गाउँंपालिकामा पेस नेपालले प्लान इन्टरनेशलन नेपालको साझेदारीमा आफ्नो कार्यक्रम संचालन गरिरहेको छ ।

लैङ्गिक रूपान्तरण र समावेशी सिकाई वातावरणको लागि सुधारिएको विद्यालय सुविधाहरू, अभिभावक शिक्षा तथा सरोकारवाला निकायहरुको सहकार्यमा शिक्षा क्षेत्रमा नमुना विद्यालय निमार्ण गर्नका लागि हिमा गाउँंपालिकाको भैरव आधारभुत विद्यालय जोगीवाडा ४, महादेव आधारभुत विद्यालय कुडु ७, सिजा गाउँपालिका श्री माध्यामिक विद्यालय जोडु ६, कनकासुन्दरी आधारभुत विद्यालय गोरुचौर ६, भैलापाटा आधारभुत विद्यालय लेखपुर ४ का ५ बिद्यालय निर्माण भएका छन् ।

स्थानीय सरकार, पेस नेपाल र प्लान इन्टरनेशनल नेपालले प्लान इन्टरनेशनल डेनमार्क, नेचरप्लानको संयुक्त प्रयासमा २०२३ जुलाई वाट संचालन भएको परियोजनाले शिक्षकलाई तालिम, अभिभावक शिक्षा, पढाईकुनामा सहयोग गर्दै स्थानीय, जिल्ला र प्रदेशस्तरमा लवि तथा पैरवीका विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्