Logo

२० बर्षभन्दा मुनिका महिलाको गर्भपतनमा चितवन अग्रस्थानमा



चितवन, ५ असोज । असुरक्षित गर्भपतनका कारण महिलामा बाँझोपनाको समस्या बढ्दो क्रममा रहेको सरोकारवालाहरुले बताएका छन् । एउटै महिलाले ६ पटकभन्दा बढी सुरक्षित वा असुरक्षित गर्भपतन गराउँदा उसमा बाँझोपनाको समस्या बढ्ने र भविश्यमा आइभीएफ सेवासम्म पुग्नुपर्ने अवस्थाको सृजना भएको अधिकारीहरुले बताएका छन् ।

समाज, आफन्त र परिवारको डरका कारण लुकिछिपि गर्भपतन गराउँदा मान्यता प्राप्त औषधिको प्रयोग, सुचिकृत स्वास्थ्य सस्थाको अवस्था र दक्ष जनशक्तिको बारेमा कुनै ज्ञान नराख्दा समस्या बढेको विज्ञहरुको भनाई छ ।

बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले असुरक्षित गर्भपतन गराउँदा मानवीय क्षति भइरहेको भन्दै दुख व्यक्त गरे । मेरि स्टोप्स नेपालको सहयोग र स्वास्थ्य लाइभ मिडियाको आयोजनामा भरतपुरको चितवनमा आयोजना गरेको “मिडिया सचेतनाः सुरक्षित गर्भपतनको लागि जवाफदेहिता” विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री मगरले असुरक्षित गर्भपतन रोक्नका लागि बागमती प्रदेश सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए । उनले सुरक्षित गर्भपतन गराउन र सुचिकृत स्वास्थ्य सस्थामा मात्रै जान विशेष जोड दिए ।

मन्त्री थापा मगरले सुरक्षित गर्भपतनका लागि प्रदेश सरकारले जिल्ला जिल्लामा जनचेतना फैलाउने पनि बताए । उनले प्रदेश सरकारले आवश्यक कानुन र जनस्तरमा सुसूचित गर्नका लागि भूमिका खेल्ने बताए । असुरक्षित गर्भपतन रोक्न अस्थायी साधन प्रयोग गर्ने विषयमा पनि ध्यान दिनुपर्नेमा मन्त्री थापाको जोड छ । मन्त्री थापा मगरका अनुसार मातृ मृत्युदर घटाउन पनि प्रदेश सरकारले काम गरिरहेको छ ।

यता भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले सुरक्षित गर्भपतनमा जोड दिँदै त्यसमा लागि मिडियाले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । अधिकारीले असुरक्षित गर्भपतनलाई रोक्न र सुरक्षित गर्भपतनमा ध्यान दिन महानगरपालिकाले विशेष सचेतना फैलाउने बताए । चितवन काठमाडौं पछिको दोस्रो मेडिकल सिटी भएकाले यस विषयमा पनि स्थानीय सरकार गम्भिर भएर लागेको बताए । महानगर भित्र १५ शय्याभन्दा बढीका २१ वटा अस्पताल रहेका छन् । अधिकारीले असुरक्षित गर्भपतन बढ्दो क्रममा रहेपनि सरकारले यसको अनुगमन गर्न नसकेको स्वीकार गरे । औषधिको दुरुपयोग, फार्मेसी कतिपय अस्पतालहरुनै पैसाका लागि जुनै पनि सेवा दिन तयार हुदा समस्या बढेको उनको बुझाइ छ । उप प्रमुख अधिकारीले यी र यस्ता विषयमा आगामी दिनमा सरकार गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए ।

विश्वमा लगभग बार्षिक २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन् । यसमा अधिकांश बिकासोन्मुख देशमा हुने गर्दछन् । हरेक वर्ष करीव ४४ हजार महिलाहरुको असुरक्षित गर्भपतनका कारण मृत्यु हुने गरेको छ ।

नेपाालमा प्रत्येक बर्ष करिब ८ लाख महिला गर्भवती हुने गर्दछन् । हरेक बर्ष करिव ९० हजार महिलाले सुरक्षित गर्भपतन सेवा लिने गरेको सरकारी तथ्यांक रहेको छ । बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीका अनुसार १५ देखि ४९ वर्ष उमेरका  महिलाहरु मध्ये ९ प्रतिशतको गर्भ खेर जाने  तथा १० प्रतिशतले गर्भपतन गर्ने गरेको देखिन्छ ।

तथ्यांक अनुसार केवल ४१ प्रतिशत प्रजनन् उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान छ । त्यस्तै ४८ प्रतिशत महिलालाई सुरक्षित गर्भपतन सेवा कहां उपलब्ध हुन्छ भन्ने सम्म जानकारी छैन । तिवारी भन्छन् कानुनी मान्यताको ज्ञान नपढेका र आर्थिक अवस्था कमजोर भएका महिलाहरुमा ज्यादै कमी छ । उनी भन्छन् नेपालमा कुल मातृ मृत्यु मध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ ।

२०७९, ०८० मा सुरक्षित गर्भपतन सेवा लिएका मध्ये २० वर्ष मुनिका महिलाको प्रतिशत बाग्मतीमा धेरै रहेको छ । जहाँ २० वर्ष भन्दा कम उमेरका ७ दशमलब १ प्रतिशत महिलाले गर्भपतन सेवा लिएका छन् ।

भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। सुनिलमणि पोखरेलले ६ देखि ७ पटक सम्म गर्भपतन गराउँन महिलाहरु आउँने गरेको बताए । यसले उनिहरुको स्वास्थ्यमा गंम्भिर समस्या ल्याई दिर्घकालीन रुपमा बाँझोपना निम्तने खतरा भएको बताए । डा पोखरेलले सुचिकृत स्वास्थ्य सस्था र दक्ष जनशक्ति भएको स्थानमा मात्रै सेवा लिन आग्रह गरेका छन् । धेरै पटक सुरक्षित वा असुरक्षित रुपमा गर्भपतन गराउँदा पाठेघरमा समस्या आउँने समेत उनले बताए ।

चितवनका स्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपखेतीले बिस बर्षभन्दा मुनि समेत सुरक्षित गर्भपतन गर्नेको संख्या प्रसश्त देखिएको बताए । अरू प्रदेशको तुलनामा मधेशमा कम संख्या देखिन्छ भने बागमतीमा सबैभन्दा बढी देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्