Logo

गिरीबन्धु जग्गा प्रकरणमा कानुन बनाएर कार्यान्वयन गरेको हो, त्यो भन्दा केही भएको छैनः एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल



काठमाडौं, ६ असोज । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्भव भएसम्म सर्वसम्मत रुपमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्याय पालिकालगायतका विषयमा प्रश्न उठिरहेकाले यी विषयमा मेजर पोलिटिकल पार्टीमा छलफल गरेर सर्वसम्मत संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका हुन् । संविधान संशोधनको विषयलाई लिएर माओवादीलगायतका दलहरु आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए ।

‘निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्याय पालिकालगायतका सन्दर्भमा अनेक ढंगले कुराहरु उठिरहेका छन् । स्थानीय निकायको संख्या, प्रदेशको संख्याको बारेमा कुरा उठिरहेका छन् । यतिबेला हामीले संविधान बनाउँदा जसरी मिलेर बनायौं, हामीले बसेर कन्टेनमा छलफल गर्नुपर्यो । अनेक विधिबाट संविधान संशोधनको बाटोमा जानुपर्छ । इश्यूहरुको बारेमा छलफल गरेर हाम्रो साझा विषय के हो भनेर छलफल गर्ने,’– उनले भने ।

त्यस्तै, फरक प्रसंगमा नेता पोखरेलले भ्रष्टाचारका मुद्दामा दोषी देखिएका सबैलाई सरकारले कानुनी दायरामा ल्याउने बताए । उनले दोषीहरु कानुनको दायराबाट कोही उम्किन नसक्ने बताए । ‘तथ्य प्रमाणले पुष्टि गरेका दण्डको भागिदार कोही पनि उम्कन पाउनु हुँदैन । ती दण्डित हुनुपर्छ,’– उनले भने ।

साथै, गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै संलग्नता नरहेको उनले दाबी गरे । ओली प्रधानमन्त्री रहेको तत्कालीन अवस्थामा स्वैच्छाचारी ढंगबाट विक्री वितरण भइरहेको उक्त जग्गा कानुन बनाएर विक्री वितरण गर भनेर अदालतले आदेश दिएको उनले स्मरण गराए । नेता पोखरेलले संसद्बाट कानुन पारित भइसहेको अवस्थामा अदालतले रोकेको बाहेक सो जग्गाका सन्दर्भमा अन्य केही नभएको बताए ।

‘पहिला स्वैच्छाचारी ढंगले विक्री वितरण भइरहेको, त्यसरी विक्री गर्न पाउँदैनौं, कानुन बनाएरमात्रै विक्री गर भनेर अदालतले फैसला गरेको, त्यो फैसलाको आधारमा कानुन बनाएको, कानुन संसद्ले बनायो ।’ उनले भने, ‘संसद्ले बनाएको कानुनको आधारमा अगाडि जाँदा फेरि मुद्दा परेपछि रोकिएको । अर्को के भयो ? कसैले बेचेर खायो कि के भयो ? काक्रो आफू खाने बियाँ अरुको गालामा लगाइदिने हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्