
काठमाडौं, ६ असोज । थारु महिला सभा उपत्यका कार्यसमितिले काठमाडौंमा जितिया महोत्सव २०८१’ आयोजना गरेको छ । विगत २२ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायहरुले यो पर्व मनाउँदै आएका छन् । आगामी असोज ९ गते काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा कार्यक्रम आयोजना गरिएको छ ।
महोत्सवको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्ने बताइएको छ । थारू महिला सभा उपत्यका समितिकी अध्यक्ष ललिता चौधरीले जितिया पर्व तीन दिन मनाइने गरिए पनि मुख्य दिन ९ गते महोत्सव आयोजना गर्न लागिएको बताईन् ।
महोत्सवका अवसरमा सूर्य भगवानका पुत्र जितमहानको उपासना गरी पारिवारिक सुख, शान्ति र समृद्धिका लागि पर्व मनाइने गरिएको अध्यक्ष चौधरीले बताईन् ।
थारु जितिया पर्वका प्रचार प्रसार गरी राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा चिनाउने, थारु संस्कृतिलाई संरक्षण र संवर्धन गर्नेलगायतका उद्देश्यले महोत्सव आयोजना गरिएको बताइएको छ ।
त्यस्तै, महोत्सवमा थारुहरुको परम्परागत तथा आधुनिक नाचगान र प्रहसन, थारु जातिमा रहेको विविधतायुक्त पहिरण प्रदर्शनलगायतका आकर्षणहरु रहेको बताइएको छ । फोटोः दिनेश चौधरी/रिपोर्टर्स नेपाल






