Logo

प्रधानमन्त्री ओली स्वदेश फर्किनुअघि नै रविलाई पक्राउ गर्ने तयारी



काठमाडौं । सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा कारबाहीको सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिस्थिति हेरेर पक्राउ गरिने भएकोछ ।

आइतबार रातीनै लामिछानेलाई पक्राउ गर्ने तयारी थियो । तर,पक्राउ पूजी पनि जारी नभएको र रास्वपाका कार्यकर्ताहरु पार्टी कार्यलयमा बाक्लो मात्रामा उपस्थित भएको हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राखेर प्रहरी रित्तै फर्किएको थियो । आइतबारमात्रै गोर्खा मिडियाका तत्कालीन प्रवनधक निर्देशक छविराज जोशी पक्राउ परेका छन् ।

समितिको प्रतिवेदन मन्त्रिपरिषद बैठकले नै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। मन्त्रिपरिषद्ले कार्यन्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो। गृहमन्त्री लेखकले आइतबार प्रहरी महानिरीक्षकलाई बोलाएर उक्त प्रतिवेदन कार्यन्वयनमा अगाडि बढ्न निर्देशन दिएका थिए।

उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा अघि बढाउने तयारी गरेको छ। गृहमन्त्रीले निर्देशन दिएको केही घण्टामै छविलाल जोशी पक्राउ परेका हुन्। जोशीका व्यावसायिक साझेदारसमेत रहेका रवि लामिछानेमाथि प्रहरीले निगरानी बढाएको छ।

जोशी पक्राउ परेलगत्तै गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा रास्वपा सभापति लामिछानेले आकस्मिक रूपमा नेता -कार्यकर्ता र समर्थकलाई पार्टी कार्यालय वनस्थली बोलाएका थिए । त्यस क्रममा नेता-कार्यकर्ता र समर्थकले ‘सहकारीमा लामिछानेलाई फसाउन लागेको’ भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । लामिछानेले कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए, ‘मलाई पक्राउ गर्न पुर्जी जारी नभएको बुझिएको छ तर यो दुईतिहाइको सरकारको भर छैन ।’

देश छाडेर भाग्ने तयारी गरेको सूचनापछि उनलाई प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएर कास्की पुर्याएको थियो । जोशीलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराईँदैछ । उनको बयानपछि पुरक जाहेर दर्ता गरेर पक्राउ पूर्जी जारी गराएर केही दिनमै लामिछानेलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ ।

सहकारीमा भएको रकम दुरुपयोगको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले रविसहित ९ जनाविरुद्ध कानूनी कारबाहीको लागि सिफारिस गरेको थियो । कारबाही सिफारिस भएका जोशी पक्राउ परिसकेका छन् भने जीवी राई हालसम्म पनि फरार छ । यता प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिका भ्रमणमा छन्, भने नेपाल प्रहरीका आइजीपी वसन्तबहादुर कुँवरपनि आज विदेश भ्रमणमा जाँदैछन् । ओली र कुँवर स्वदेश फर्किनु अघिनै लामिछानेलाई पनि पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको हस्ताक्षर चल्नेगरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड बढी रकम ल्याएर खर्च गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्