Logo

संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने हो भने रविलाई तत्काल पक्राउ गर्नुपर्छः अधिवक्ता नेपाल (भिडिओसहित)



काठमाडौं, ७ असोज । कानुनविद् एवं अधिवक्ता स्वागत नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न पर्याप्त प्रमाण रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अधिवक्ता नेपालले लामिछानेको भन्दा कम संलग्नता भएको प्रमाणका अधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको बताए । रवि लामिछानेमाथि पक्राउ पुर्जी जारी हुनुपर्ने र उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइनुपर्ने उनले बताए ।

‘प्रतिवेदनमा उहाँ (रवि लामिछाने) जति संलग्नता देखिएको छ, यो भन्दा थोरैमात्रै प्रमाण पक्राउ पुर्जी जारी गरिएको राप्रपाको सांसद गीता (गीता बस्नेत) को सवालमा हो । यो भन्दा थोरै । यही प्रतिवेदन कार्यन्वयन गर्ने क्रममा जोशीजीलाई पक्राउ गरिएको छ भने उहाँलाई नहुने कुरै भएन,’– उनले भने ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेले क्लिन चिट पाएको भनी दाबी गरेको प्रति उनले कानुन पढ्न सुझाव दिए । रास्वपाका अहिलेसम्मका सबै काम कुराहरु असफल र असत्य प्रमाणित भइरहेको उनले दाबी गरे ।

‘क्लिन चिट बुझ्न कानुन पढ्नुपर्छ । आलु पीएचडीहरुलाई के लाग्यो, क्लिन चिट भयो भने ।’ उनले भने, ‘उनीहरुले भनेको कुरा अहिलेसम्म सबै असफल र सबै असत्य प्रमाणित भएको छ । समय पुगेन होला, क्लिन चिट भनेको के हो भन्ने कुरा पढेर आउनुहुन्छ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्