Logo

प्रस्तावित राजदूत भट्टराईको शैक्षिक प्रमाणपत्र परराष्ट्र मन्त्रालयमै उपलब्ध छैनः श्याम घिमिरे



काठमाडौं, ७ असोज । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले श्रीलङ्का लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक प्रमाण पत्र परराष्ट्र मन्त्रालयमै उपलब्ध नरहेको पाइएको बताएका छन् ।

आज (सोमबार) संसदीय सुनुवाई समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले परराष्ट्रले समितिलाई उनको शैक्षिक योग्यताको प्रमाणपत्र पाप्त भएपछि उपलब्ध गराउँछौं भनेर जवाफ पठाएको बताए ।

‘परराष्ट्र मन्त्रालयले आएपछि उपलब्ध गराउँछु भनेको छ । उसको पत्रमा त्यो भन्दा बढी कुरा केही पनि छैन । हामीलाई उपलब्ध भएपछि तपाईँहरुलाई उपलब्ध गराउँछौं भनेको छ । यसको अर्थ परराष्ट्रमै उपलब्ध छैन,’– नेता घिमिरेले बताए ।

राजदूत नियुक्ति सम्बन्धी निर्देशिकाअनुसार उनको शैक्षिक योग्यताको प्रमाण पत्र उपलब्ध नभए प्रस्ताव स्वीकृत गर्न नसकिने उनले बताए । आजको संसदीय सुनुवाई समितिको बैठकमा दुई तिहाई बहुमत नपुग्दा प्रस्तावित राजदूत भट्टराईलाई अस्वीकृत गर्न नसकिएको पनि उनले बताए ।

नेता घिमिरेका अनुसार भोलि विहान ९ बजे संसदीय समितिको बैठक बोलाइएको छ । भोलिको बैठकमा दुई तिहाई बहुमत पुर्याएर प्रस्तावित राजदूत भट्टराईलाई स्वीकृत गरिने छ । कूल १५ सदस्यीय संसदीय सुनुवाई समितिमा दुई तिहाई बहुमतका लागि १० जनाको समर्थन आवश्यक पर्छ । आजको बैठकमा जम्मा ८ जना सदस्यमात्रै उपस्थित थिए ।

श्रीलङ्का लागि प्रस्तावित राजदूत भट्टराईले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र पेश गर्न नसक्दा उनी अस्वीकृत हुन लागेका हुन् । राजदूत नियुक्ति सम्बन्धी निर्देशिकाले न्यूनतम् योग्यता स्नातक तह निर्धारण गरेको छ । फोटो, भिडिओः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्