Logo

चिकित्सा शिक्षा आयोगले नतीजा प्रकाशन गर्दा गम्भीर त्रुटी गरेको विद्यार्थीहरुको आरोप, प्रश्न पत्र, ओएमआर सिट र उत्तर की हेर्न पाउनुपर्ने माग



काठमाडौं, ७ असोज । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतीजा प्रकाशन गर्दा गम्भीर त्रुटि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । आन्दोलनरत विद्यार्थीहरुले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आफ्ना मागहरु सार्वजनिक गरेका छन् । उनीहरुले प्रश्न पत्रको सेट हेर्न पाउनुपर्ने, ओएमआर सिट हेर्न पाउनुपर्ने र उत्तर कि हेर्न पाउनुपर्ने माग राखेका छन् ।

चिकित्सा शिक्षा आयोगले गत भदौ १ गतेदेखि ५ गतेसम्म एकीकृत प्रवेश परीक्षा लिएको थियो । उक्त प्रवेश परीक्षाको नतिजा भदौ १३ देखि १९ गतेसम्ममा प्रशासन भएकोमा गम्भीर त्रुटी देखिएको विद्यार्थीहरुको भनाइ छ । आन्दोलतरत विद्यार्थीहरुको संयोजक जीवन सिंहका अनुसार रिजल्ट पब्लिस भएपछि रोल नम्बर र नाम फरक परेको थियो । त्यस्तै, केही समय पछि नतिजा पुनः अर्कै प्रकाशन गरिएको उनले बताए ।

चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटी गरेको भन्दै उनीहरुले यस विषयमा छानविन गरी कारबाहीको मागसमेत गरेका छन् । चिकित्शा शिक्षा आयोगको त्रुटीलाई लिएर विद्यार्थीहरु २२ दिनदेखि आन्दोलनरत छन् ।

आन्दोलनरत विद्यार्थीहरुको पक्षमा समर्थन जनाउँदै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले चिकित्सा शिक्षा अन्तर्गतको एमबीबीएस अध्ययनमा रहेको कोटा प्रणाली खारेज हुनुपर्ने बताए । पढेर डाक्टर बन्न चाहने विद्यार्थीहरुलाई देशमै पढ्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

चिकित्सा शिक्षा आयोगले एउटा परीक्षाको दुई वटा नतिजा प्रकाशन गरेको भन्दै विद्यार्थीहरुले राखेको माग पूरा हुनुपर्ने बताए । आयोगका कारण विद्यार्थीहरुको भविष्यमाथि खेलवाड हुन नहुने उनले बताए । ‘२ घण्टा अगाडि पास भएको विद्यार्थी फेरि फेल बनाइएको छ । यस्तो पनि हुन्छ ? अब विद्यार्थीहरुको माग पूरा हुनुपर्छ,’– उनले भने ।

पत्रकार धमलाले नेपालमा चिकित्सा शिक्षा पढ्न चाहने र योग्य विद्यार्थीहरुलाई नेपालमै अवसर दिइनुपर्ने बताए । पीडित विद्यार्थीहरुको पक्षमा मिडिया जगत रहिरहने पनि पत्रकार धमलाले विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्