Logo

पत्रकार महासंघलाई सर्वोच्चले सोध्यो: समयमै चुनाव किन नगराएको ?



काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन तत्काल गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ। सोमबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले समयमै निर्वाचन गर्न नसक्नुको कारण माग गरेको हो ।

ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासंघलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएकोमा कारण देखाउ आदेश जारी भए पनि अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ ।

रिटमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग पनि गरिएको थियो । महासंघको वर्तमान कार्यसमितिले निर्धारित समयमा निर्वाचन गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट निर्वाचन गराएर महासंघलाई निकास दिन रिट निवेदनमा माग गरिएको छ ।

पटक पटक मिति ताेकिँदा पनि पत्रकार महासंघको चुनाव हुन सकेको छैन । सदस्यता विवाद सुल्झाउन नसकेपछि अध्यक्ष विपुल पोखरेल र वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

महासंघको यसअघि गत जेठ अन्तिम साता निर्वाचन गर्ने कार्यसूची थियो । तर,पत्रकार संगठनबीच कुरा नमिल्दा गत असार २२ गते सम्म सरेको थियो । त्यहि बेलामा सत्ता परिवर्तन भएपछि महासंघको निर्वाचन भदौंमा धकेलिएको थियो। भदौंमा पनि निर्वाचन गर्न नसकेपछि पोखरेलले राजीनामा दिएका थिए । पोखरेलपछि कार्यवाहक अध्यक्ष बनेका विष्टले यही असोज १० गतेका लागि निर्वाचनको मिति तोकेका थिए । तर,१० गतेपनि निर्वाचन नहुने निश्चित भएपछि उनले पनि अध्यक्षबाट राजीनामा दिईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्