Logo

नाउपाको घर झगडा तत्काललाई समाधान, रेशम-रञ्जिताबीच ‘भद्र सहमति’, बोलाईयो संयुक्त बैठक



काठमाडौं । लामो समयदेखि आन्तरिक विवादमा फसेको सत्तारुढ पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा तत्कालका लागि संकट टर्ने देखिएको छ । पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पूर्व सांसद एवं संरक्षक रेशमलाल चौधरीबीच भद्र सहमति भएसँगै पार्टीको लफडा समाधानन्मुख भएको हो ।

रेशम र रञ्जिता श्रीमान-श्रीमती हुन् । तर,यी दुईबीच लामो समयदेखि पानी बारबारको स्थिति बनेको छ । अबभने दुईबीच नयाँ निर्वाचित पदाधिकारी सहितको संयुक्त बैठक बोलाउने समझदारी बनेको छ । असोज १८ र १९ गते काठमाडौंमा बैठक बोलाउने दुईबीच भद्र सहमति बनेको हो ।सोही सहमति अनुसार बैठकका लागि सबै नेता कार्यकर्तालाई पत्रसमेत पठाईएको छ ।

‘उपरोक्त सम्बन्धमा हाम्रो नागरिक उन्मुक्ति पार्टीभित्र उत्पन्न आन्तरिक विवादका कारण केही समयसम्म स्थगित भएका बैठकहरू पुनः आपसी मतभेदलाई मत्थर पारी ‘हामी एक हौं र एक रहनेछौं’ भन्ने सन्देश सबैमाझ छर्दै हाम्रो पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य, पदाधिकारीहरूको बैठक पार्टीको प्रथम महाधिवेशनबाट निर्वाचित अध्यक्ष र निर्वाचन आयोगद्वारा वैधानिकता प्राप्त अध्यक्षताको सहमतिमा काठमाडौंमा बस्ने हुँदा अनिवार्य उपस्थितिको लागि यो पत्र प्रेषित गरिएको छ,’ पत्रमा भनिएको छ।

गत पुसमा कैलालीको टिकापुरमा भएको प्रथम महाधिवेशनबाट रेशम रञ्जिताबीच खटपट सुरु भएको थियो । सो खटपटलाई समेत समाधान गर्नेगरि दुईबीच समझदारी बनेको स्रोतको भनाइ छ । बैठकमा टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचन सम्पूर्ण पदाधिकारी र सदस्यलाई पनि बोलाइएको छ। रेशम-रञ्जिताबीच टकराव आउनुको मुख्य कारण पनि महाधिवेशन रहेको थियो। महाधिवेशनलाई मान्यता दिने वा नदिने, रेशम चौधरीलाई अध्यक्षको मान्यता दिने कि नदिने विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

टीकापुरमा भएको महाधिवेशनमा रेशम अध्यक्ष बन्दा रञ्जितालाई सहअध्यक्ष बनाईएको थियो । तर, निर्वाचन आयोगले रेशमलाई अध्यक्ष अस्वीकार गर्दै पूरानै कार्यसमिति ब्यूँताएर रञ्जितालाई अध्यक्ष कायम गरिदिएपछि रेशम अदालत गएका थिए ।

०७२ भदौंमा भएको नरसंहारकारी टीकापुर घटनाका मूख्य योजनाकार मानिएका रेशम तीनै तहको अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएर कैद भुक्तान गरिरहेका उनी ०८० सालको गणतन्त्र दिवसको दिन तत्कालीन प्रचण्ड नेतृत्वको सरकारको सिुफारिसमा राष्ट्रपतिबाट आम माफी पाएर छुटेका थिए । उनलाई आममाफी दिईएकोबारे सर्वोच्चमा दायर रिट हालपनि विचाराधीन अवस्थामा छ ।



प्रतिक्रिया दिनुहोस्