Logo

रविलाई कारबाहीको सिफारिस गरेको कुरालाई विदेशी डिग्री होल्डरले ‘क्लिन चिट’ भनेर घोक्रो सुकाएः रामकुमारी झाँक्री



काठमाडौं, ८ असोज । नेकपा (एकीकृत समाजवादी) कि पोलिटव्यूरो सदस्य रामकुमारी झाँक्रीले सहकारी ठगी प्रकरण छानविन गर्न बनेको संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाहीको सिफारिस गरेको दाबी गरेकी छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसदीय समितिले प्रष्ट रुपमा कारबाहीको सिफारिस गरेकोमा केही विदेशी डिग्री होल्डरहरुले त्यसलाई क्लिन चिटको रुपमा व्याख्या गरेर घोक्रो सुकाएको उनले टिप्पणी गरिन् ।

‘छानविन समितिले लेखेको भाषाका बारेमा केही मान्छेहरुले, केही विद्वान मित्रहरुले, विदेशी डिग्री होल्डरहरुले पनि के भनेको देखियो भने क्लिन चिट पाउनुभयो, अब अरुको बारेमा हामी प्रश्न उठाउँछौं भनेर घोक्रो सुकाएको मैले पनि देखेँ,’– उनले भनिन् ।

स्वार्थ बाझिने मान्छेहरु पनि समितिमा हुने भएकाले समितिले साझा भाषा खोज्ने उनले बताईन् । संसदीय समितिले शिष्ट भाषामा तथ्यले भन्न खोजेको कुरालाई उजागर गर्ने उनले बताईन् । सहकारी ठगी प्रकरणमा पनि त्यही भएको उनले बताईन् । रवि लामिछानेको पार्टीको मान्छे पनि सो समितिमा भएका कारण जिम्मेवार मान्छेलाई कारबाही गर भनेर लेखिएको र त्यसो भन्नु दोषी सबैलाई कारबाही गर भनेको अर्थमा बुझ्नुपर्ने उनले बताईन् ।

समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेपछि अब अनुसन्धान गर्ने अधिकारीले सहकारी ठगीमा संलग्नता देखिएकाहरुलाई गिरफ्तारी गर्नुपर्ने उनले बताईन् । आफू सहकारी ठगी प्रकरणमा दोषी हुँदाहुँदै मान्छे बोलाएर भिडले निर्णय गर्छ भन्ने सोच्नु आफैंमा गलत रहेको उनले बताईन् ।

‘मान्छे जम्मा पारेर विषयान्तर गर्ने, भीडले सडकबाट निर्णय गर्ने, कानुन नमान्ने जे कुरा हुँदैछ । कानुनी राज्यमा यो नसुहाउने कुरा हो,’– उनले भनिन् ।

रवि लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति सुद्धीकरणलगायत विभिन्न मुद्दा चल्ने आधार बनेको उनले बताईन् । गोर्खा मिडियामार्फत व्याजसहित सहकारीको पैसा फिर्ता गरेर दोषीहरुले कानुनी कारबाही पनि भोग्नुपर्ने उनले बताईन् । नेतृ झाँक्रीले अब लामिछानेलाई कुनै पनि राजनीतिक सुविधा नरहेकाले कारबाही हुने बताईन् ।



प्रतिक्रिया दिनुहोस्