Logo

रविलाई एमाले सांसद शाहीको सुझावः सहकारी ठगीमा आत्मसमर्पण गर्नुस्, आममाफीको व्यवस्था म गराइदिउँला (भिडिओसहित)



काठमाडौं, ८ असोज । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा राज्यसँग आत्मसमर्पण गर्न सुझाव दिएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्र्दै उनले रास्वपा सभापति लामिछानेलाई जनता र कार्यकर्तालाई दुःख नदिई आन्मसमर्पण गर्न सुझाव दिएका हुन् । नेता शाहीले जनता र कार्यकर्तालाई दुःख नदिई आत्मसमर्पण गरेको खण्डमा आफूले आममाफीको व्यवस्था मिलाइदिने पनि बताए ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीजस्तै लामिछाने नै सोही पथमा अगाडि बढेको उनको टिप्पणी छ । कुनै बेला देश बाँडौं भनेर हिँडेका रेशमको अहिले घर भाँडिएको बताउँदै उनले भने, ‘रवि पनि करिब–करिब रेशम पथमा छन् । कार्यकर्ता, जनतालाई दुःख दिनुभन्दा आत्म समर्पण गर्नु, बरु आममाफीको व्यवस्था म गराइदिउँला उहाँलाई । म फ्रड मान्छे हुँ भनेर राज्यसँग आत्मसमर्पण गर्नु राम्रो छ उहाँको निमित्त ।’

नेता शाहीले लामिछानेलाई नेपाली राजनीतिक एटीएमको संज्ञा दिए । विना त्याग र विना कुर्वानी लामिछानेले राजनीतिलाई एटीएमको रुपमा प्रयोग गरेको उनको दाबी छ । उनले रविलाई रेशमपछिको छुद्र ग्रहको संज्ञासमेत दिए ।

‘रवि लामिछाने नेपाली राजनीतिक एटीएम हुन् । त्याग, कुर्वानी छैन, कार्ड घुसायो, पैसा झिक्यो । राजनीतिक दललाई उहाँले एटीएम बनाउनुभयो । रेशम चौधरी पछिको छुद्र ग्रह हुन् रवि लामिछाने,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्