Logo

सत्ताको उन्मादमा मातेकाहरुबाट अभिव्यक्ति स्वतन्त्रता गम्भीर संकटमा पर्‍यो: आजपा अध्यक्ष साह



काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरु दण्डित हुनुपर्ने कारणले ‘वाक् स्वतन्त्रता’ गम्भिर अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

आजपा पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले आजको समयमा वाक् स्वतन्त्रता गम्भीर संकटमा पुगेको बताए । बर्षौदेखीको त्याग, तपस्या र आन्दोलनबाट प्राप्त वाक् स्वतन्त्रता सरकारकै कारण संकटमा परेको उनको दाबी छ ।

‘नेपालमा वाक स्वतन्त्रताको बिषय गम्भीर बन्दैछ । सरकारको गलत क्रियाकलापको विरोध गर्नेहरु उल्टै दण्डित हुनुपर्ने अवस्था छ । बर्षौदेखीको त्याग, तपस्या र आन्दोलनबाट प्राप्त अभिव्यक्ति स्वतन्त्रता आज गम्भिर संकटमा परेको छ’ साहले भने, ‘नेताहरु सत्ता उन्मादमा मातेका छन् । आफ्नो कुकर्म छोप्न जेपनि स्तरमा पुगेका छन् । के सरकारको भ्रष्टाचारको विरोध गर्नै नहुने हो र ? नेताहरुले गरेको भ्रष्टाचारको विरोध गर्यो भने झुठो मुद्धा खेप्नुपर्ने अवस्था छ ।’

सत्तामा पुगेका नेताहरुले भ्रष्टाचारमा देशैभरी आतंक मचाएको उनले आरोप लगाए । ‘हामीले टुडिखेल बिर्सिएका छैनौं । बिभिन्न क्षेत्रहरुमा सही कुरा बोले वापत झुठो मुद्धा लगाइएको छ । विरगंजमा विरगंज टेलिभिजनले मालपोतको बेथितिको बारेमा समाचार प्रशारण गरेवापत टेलिभिजनका पत्रकार, मालिकदेखी लिएर सही कुरा गर्ने उपभोक्तालाई समेत मुद्धा लगाइएको छ । यो भनेको स्वतन्त्रताको हकमाथिको हमला हो’ साहले भने ।

अहिलेको लोकतन्त्र नभई दलाल लुटकारी दलतन्त्र भएको बताउँदै उनले दलतन्त्र राजाको पथमा अगाडी बढेको टिप्पणी उनले गरे । राजाको पथमा अगाडी बढनुभनेको बिनाको बाटो भएको उनले बताए । आम जनताले फेरी स्वतन्त्रताका लागि आन्दोलनमा उत्रिनुको बिकल्प नभएको बताउँदै उनले त्यसका लागि आम जनता पार्टीले नेतृत्व गर्न तयार रहेको बताए ।

भ्रष्टाचार, बेथिति, कुशासन, अनियमितताको विरुद्धमा एकजुट भएर अगाडी बढनुको बिकल्प नभएको बताउँदै उनले अभिव्यक्ति स्वतन्त्रताका लागि सबैएकजुट नभए भ्रष्ट शासकले देशमा आतंक बचाउँने उनले बताए ।

आजपाले गत ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्नेको थियो । यसका साथै हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयन र पार्टीद्धारा भईरहेका आन्दोलन लगायतको बिषयमा बैठकमा गम्भिर समिक्षा भएको छ । पार्टीको निर्णय अनुसार धोखेबाज दलहरुसंग भोट फिर्ता माग्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने, भ्रष्ट शासकहरुलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरुको सम्पति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकारवाही गर्ने तथा काठमाडौंमा जारी वैदेशिक रोजगार पीडीतलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको मजबूत आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने लगायतका बिषयलाई थप सशक्त रुपमा अगाडी बढाउँने बारेमा पदाधिकारी बैठकमा छलफल भएको आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्