Logo

प्रचण्ड र रवीन्द्रको भेटप्रति बाबुरामको कटाक्ष: आखिर बिरालो म्याउँ गरिछाड्यो



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको भेटवार्ताबारे नपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कडारुपमा टिप्पणी गरेका छन् ।

मंगलबार प्रचण्ड निवास खुमलटारमा रवीन्द्रसँग भेटवार्ता भएको थियो । सो भेटपछि प्रचण्डले राजतन्त्रप्रति सहानुभूपित दर्शाएको भन्दै मिश्रले स्टाटस् लेखेका थिए ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् डा। भट्टराईले आफ्ना पूर्वसहकर्मी प्रचण्डले राजतन्त्रप्रति नरम अभिव्यक्ति दिएको रवीन्द्र मिश्रको दाबीलाई लिएर प्रतिक्रिया दिएका हुन् । ‘माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ अहिले बिरालो म्याउँ गरेकै हो, किनकि प्रचण्डको वास्तविकता त्यही हो,’ उनले भनेका छन् ।

भट्टराईले ‘गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरुषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट नभएर नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको’ उल्लेख गरेका छन् । उनले चेतावनीको शैलीमा भनेका छन्, ‘केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धिहरू खोसिन सक्दैनन्, खोस्न दिनुहुँदैन !’



प्रतिक्रिया दिनुहोस्