Logo

महाधिवेशनमा होमिँदै अखिल क्रान्तिकारी, नेतृत्वका लागि २ दर्जन आकांक्षी, प्रचण्डको उम्मेदवार को ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन असोज १०–१४ गतेसम्म काठमाडौँमा हुँदै छ।

‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औँ राष्ट्रिय सम्मेलन’ मूल नाराका साथ सुरु हुने सम्मेलन पार्टी अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेता उत्पादन गर्ने नर्सरीको रुपमा लिईने विद्यार्थी संगठनको नेतृत्व लिन २ दर्जन नेताहरुले आकांक्षा राखेका छन् । काठमाडौंमा हुन लागेको सम्मेलनबाट अध्यक्ष बन्नका लागि १७ जना उपाध्यक्ष र एक महासचिव सहित १८ जना प्रतिस्पर्धामा छन् । संगठनका उपाध्यक्ष राजकुमार लिम्बु पारिवारिक कामले मुलुक बाहिर रहेको र कल्पना मियाँ प्रतिनिधि सभाको सांसद भइ सकेकाले दुई जना भने अध्यक्षको प्रतिस्पर्धामा छैनन् ।

संगठनका उपाध्यक्ष जिपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरंजंश शाही, केशव रावल र महासचिव दीपेश पुन अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

प्रतिस्पर्धी धेरै भएपनि अन्तिममा पुन, कार्की, रेग्मी र मैनालीबीच भिडन्त हुने देखिन्छ । महासचिव रहेका दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । अघिल्लो कार्यकालमै अध्यक्षका लागि दाबी गरेका उनलाई यसपटक सर्वसम्मत अध्यक्ष बनाउने आश्वासन दिईएको थियो । तर,पछिल्ला दिनमा उनी सुन तस्करी र सहकारी ठगीको घटनामा जोडिएका छन् । उनलाई नेतृत्व दिन नहुनेमा धेरै नेताहरुको जोड छ । पुनलाई उपमहासचिव वर्षमान पुन लगायतका समर्थन रहेको छ ।

पुनपछि अध्यक्षका अर्का दावेदार पवन कार्की हुन् । एकता प्रक्रियाबाट माओवादी आएका उनलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतको साथ रहेको चर्चा छ । पञ्चा सिंह अध्यक्ष रहँदा संगठनमा समान्तर कमिटी चलाएका थिए ।

अर्का दाबेदारमा नरेश रेग्मी पनि हुन् । उनी संगठनको प्रशिक्षणमा अग्रसर नेता हुन् । उनलाई महासचिव देव गुरुङ, उपाध्यक्ष पम्फा भुसाल, सचिव राम कार्की, नेतृ रेखा शर्मा र माधव सापकोटा लगायतको साथ छ । पार्टी अध्यक्ष प्रचण्डले रेग्मीलाई साथ दिनसक्ने केही नेताहरू दाबी गर्छन् । तर, प्रचण्डले यसबारे मुख खोलेका छैनन् ।

वरिष्ठ उपाध्यक्ष इन्द्र भुसाल, उपाध्यक्षहरू नारायण खनाल, मदन भूल, क्षितिज सापकोटा, प्रवीणा अधिकारी, तुकमान महरा र केशव रावल लगायत पनि अध्यक्षका दाबेदार छन् । उनीहरूमध्ये मदन भूललाई जनार्दन शर्माले पनि साथ दिने चर्चा छ । यस्तै, वर्तमान अध्यक्ष सिंह र पार्टी सचिव देवेन्द्र पौडेलको समर्थन पनि भुललाई नै रहने चर्चा छ ।

प्रचण्डको उम्मेदवार को ?

नेताहरुले एकपछि अर्को गर्दै नेतृत्वका लागि दाबी गरिरहँदा पार्टीनेतृत्वले कसलाई साथ दिन्छ त्यो प्रष्ट भएको छैन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले जसलाई साथ दिन्छन् उसैको पक्षमा पल्ला भारी हुने बुझाइमा रहेका नेताहरु यतिबेला अध्यक्षको साथ दिने प्रयत्नमा रहेका छन् ।

यद्यपि हालसम्म प्रचण्डले कुनैपनि सिग्नल दिएका छैन् । उच्च स्रोतका अुनसार प्रचण्डले दीपेश पुनलाई अध्यक्ष बनाउने चाहना राखेका थिए । तर,दीपेश सुन र सहकारी काण्डमा मुछिएपछि उनलाई अध्यक्ष बनाउने चाहनाबाट प्रचण्ड हच्किएका छन् । दीपेशबाहेक पवन कार्की र नरेश रेग्मीमध्ये एक जनालाई अध्यक्ष बनाउन प्रचण्डले सिग्नल दिने नेताहरुले दाबी गरेका छन् । त्यसोत, उपाध्यक्ष जीपी मैनाली पनि प्रचण्डको साथ लिनका लागि हरसम्भव प्रयत्न गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्