Logo

लेखराजलाई छेउमा राखेर शंकर पोखरेलले भने: माओवादीले गरेको जनयुद्ध हिंशामात्र थिएन, आतंक थियो



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादीले गरेको १० वर्षेलामो शसस्त्र संघर्ष हिंशामात्र नभएर राज्यविरुद्धको आतंक रहेको आरोप लगाएका छन् ।

बुधबार कैलालीको धनगढीमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले जनयुद्धमा लड्ने सच्चा कार्यकर्ताप्रति सम्मान रहेको तर माओवादी युद्ध एक प्रकारको आतंक नै भएको टिप्पाणी गरे ।

पोखरेलले भने, ‘माओवादीले गरेको हिंसामात्र थिएन आतंक नै थियो । बसमा आगजनी गरेर मान्छे मार्ने, राति घरमा आगो लगाएर घरभित्र सुतिरहेका ११ जनाको हत्या गर्ने ती हिंसामात्र थिएनन् आतंक थिए । माओवादी द्वन्द्वका समयमा भएका हिंसा र आतंक स्वीकार्य छैनन् भन्ने कुरा त माओवादी स्वयं पक्ष भएर गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी विषयमा उल्लेख छ । हो हामीले मानेका छौं कि माओवादी आन्दोलनभित्र कार्यकर्ताको बलिदान भयो । समाजको परिवर्तनका लागि थियो भनेर लडेका कार्यकर्ताको आलोचना गरेको होइन तर गलत तत्वले हिंसात्मक क्रियाकलाप गरे त्यसको विरोध हामीले गरेका थियौं र अहिले पनि गर्छौं ।’

पोरखेलले जनयुद्धलाई हिंसा र आतंकको संज्ञा दिईरहँदा जनयुद्धबाटै उदाएर हाल एमाले सचिवरहेका लेखराज भट्ट भने प्रतिक्रिया विहीन बनेका थिए । तत्कालीन माओवादीका स्थायी कमिटी सदस्य रहेका भट्ट नेकपा विभाजनपछि एमालेमा बसेर सचिव भएका थिए ।

माओवादीले गरेको सशस्त्र संघर्ष हिंसा थियो कि जनयुद्ध भन्नेबारेमा सदनमा समेत आवाज उठ्दै आएको छ । गत महिना बसेको प्रतिनिधि सभा बैठकमा एमालेकै अर्का सचिव योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेपछि ववण्डर मच्चिएको थियो । पछि सभामुखले समेत सो शव्द संसदीय नै रहेको रुलिङ गरेपछि माओवादीले सदन अवरोध गरेको थियो । सदन अवरोध निरन्तर भएपछि संसद्को अधिवेशननै अन्त्य भएको छ ।



प्रतिक्रिया दिनुहोस्