Logo

धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया अघि बढ्यो, पहिले बहिष्कार गरेका तीनै जनालाई अन्तर्वार्तामा बोलाईयो



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुनः अघि बढाएको छ । यसअघि बोर्ड अध्यक्षको नियुक्ति प्रक्रियामा अनुपस्थित भएका तीन जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाइएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले बिहीबार एक सूचना प्रकाशति गरी तीन जनालाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाएको हो ।

गठित सिफारिस समितिले असोज १८ गते बिहान ८ बजेका लागि तीन जना उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको हो । नेप्सेका वर्तमान सीईओ कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाइएको छ ।

यसअघि दुई पटकसम्म उनीहरू अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाइए पनि गएका थिएनन् ।तर सर्टलिस्टमै परेका पाँचमध्येका एक उम्मेदवार सन्तोषनारायण श्रेष्ठले अध्यक्ष नियुक्तिको नयाँ प्रक्रिया सुरु नगर्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरे । गत असार २१ मा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले नयाँ नियुक्ति प्रक्रिया नथाल्न भनिएको अन्तरिम आदेशलाई निरन्तरता दियो ।

सर्वोच्चले गम्भीर मुद्दा भन्दै अग्राधिकार दिएर सुनुवाइ गर्न आदेश दिएपनि सो मुद्दाको पेशी भने आगामी माघ३० गतेलाई तोकिएको छ। पेशी लामो समयपछि धकेलिएको र पूरानै प्रकिया अनुसार नियुक्ति थाल्न सर्वोच्चले भनेपछि पुन: प्रकिया सुरु गरिएको हो।



प्रतिक्रिया दिनुहोस्